Salyan Paribesh , २२०९ पटक हेरिएको

सल्यान / असोज, १२। जीप दुर्घटनामा परेर पालिकाभित्रका ८ जनाको मृत्यु भएको शोकमा कपुरकोट गाउँपालिकाले विहिबार एक दिन शोक विदा दिएको छ । गाउँपालिकाको बुधबारको निर्णय अनुसार कपुरकोट गाउँपालिका कार्यालय, वडा कार्यालयहरु तथा गाउँपालिका मातहतका कार्यालयहरुमा विहिबार शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।
बुधबार विहान करिव साढे दुई बजेतीर कपुरकोट गाउँपालिका वडा नं ३ मुलपानीमा रा १ ज ५६३ नम्बरको डबल क्याब जीप दुर्घटामा परेको थियो । आफन्तीको विहेमा बाँके स्थित ढकेरीमा गएका उनीहहरु फर्कने क्रममा जीप दुर्घटनामा परेका हुन् । ९ जना सवार जीप दुर्घटना हुँदा एक जना घाइते छन् भने अरु सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा कपुरकोट ६ जलवाङ निवासी धर्म वली, कुमारी वली, बसन्त वली, टोप बहादुर वली, खुमलाल वली, कपुरकोट ५ निवासी ललित वली रहेका छन् । यस्तै सवारी चालक कपुरकोट ६ निवासी जीत बहादुर वोहरा र सोही वडाकै सुरेश खत्रीको पनि मृत्यु भएको छ । कपुरकोट ६ का तिलक वली गम्भीर घाइते छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
दुर्घटना स्थलमा प्रहरी, कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय लगाएतले उद्धार कार्य गरेका थिए । मृतक सबैको जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरी बुधबर साँझ दाहसंस्कार गरिएको कपुरकोट ६ का वडा अध्यक्ष श्यामकृष्ण वोहोराले जानकारी दिए । ७ जनाको जलवाङ स्थित ठारोखोला घाटमा र एक जनाको घुरखोला घाटमा अन्त्यष्टी गरिएको उनले जानकारी दिए । घर–परिवार भित्रका चार–पाँच जना सहित एकै गाउँका ८ जनाको दुर्घटनामा मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ । कपुरकोट– ५ बाट बसाई सरेर बाँकेको ढकेरीमा गएका आफन्तको छोरीको बिहेमको निम्तो मानेर फर्किने क्रममा उनीहरू आफ्नै गाउँ नजिकै आइपुग्दा दुर्घटनामा परेका थिए । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
कपुरकोट गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै ज्यान गुमाउनुहुनेहरुप्रति मृत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र आफन्तीजनमा समवेदन प्रकट गरेको छ । यस्तै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
प्रकाशित मिति: २०२२-०९-२८ , समय : १९:२८:३२ , १ वर्ष अगाडि