कपुरकोट गा.पा.५ सल्लाम बस्तीका पहिरो पिडितहरुलाई कलाकारहरुको टोलीले गर्यो राहत बितरण

Salyan Paribesh , २१०६  पटक हेरिएको

सल्यान/असोज, २४ । शंकर के.सी.

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाम पात्ला बस्तीका पहिरो पिडितहरुलाई सोमबार राहत वितरण गरिएको छ । कलाकारहरुको टोली तथा विभिन्न व्यक्तिहरुले रातह स्वरुप नगद तथा खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

कपुरकोट गाउँपालिका संगको समन्वयमा इन्द्रेणी फाउण्डेशन, लालिगुरास डटकम, इशा फाउण्डेशन, हेम एण्ड माया फाउण्डेशनले संकलित रकम पहिरो पिडितहरुलाई हस्तान्तरण गरेका थिए । पहिरोले घर, गोठ तथा खेतीयोग्य जमिन पूर्ण रुपमा क्षति गरेका पिडित तथा पहिरोबाट प्रभावितहरुलाई कलाकारहरुले ३ लाख १४ हजार ५ सय रुपैयाँ संकलन गरेर काठमाण्डौबाट सल्यान कपुरकोट सम्म आएका थिए ।

पहिरोबाट सबैभन्दा बढी पिडित र तत्काल कहीकतैबाट पनि आम्दानीको श्रोत नभएका ६ घरपरिवारलाई प्रतिपरिवार नगद ३० हजार र अन्य पिडित १० घरपरिवारलाई प्रतिपरिवार १० हजारको दरले राहत रकम प्रदान गरिएको लालिगुरास डटकमका म्यानेजिंग डाइरेक्टर कमल सरगमले जानकारी दिए । संकलित रकम गाउँपालिकासंगको समन्वयमा पहिरो पिडितहरु बसीरहेको बस्तीमा पुगेर वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । विपद र पिडाको बेला सबैले सक्दो सहयोग गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रशासनीक सचिव कृष्ण रेउलेले बताए ।

यस्तै आगामी प्रतिनिधीसभा निर्वाचनका लागि सल्यानबाट उम्मेदवार तथा एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नगद १० हजार रुपैयाँ पहिरो पिडितको लागि राहत कोषका संयोजक कपुरकोट ५ का वडा अध्यक्ष होमराज खड्कालाई हस्तान्तरण गरे । यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार तथा नेपाली कांग्रेस सल्यान क्षेत्र नम्बर २ का सभापती सुरेश अधिकारीले पनि कोषमा १० हजार रुपैयाँ हस्तान्तरण गरे ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुुनले नेपाल रेडक्रसबाट प्राप्त २ सेट राहत सामग्री हस्तान्तरण गरे । यस्तै एकिकृत समाजवादी कपुरकोट ३ का अध्यक्ष भुुवनेश्वर गौतमले ३० किलो चामल, ४ थान विस्तारा, भाँडावर्तन लगाएतका राहत सामग्री प्रदान गरेका थिए । माओवादी केन्द्र कपुरकोटले पनि खाद्यान्न सामग्री प्रदान गरेको थियो ।

कलाकारहरुको तर्फबाट कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत १ लाख रुपैयाँ, इसा फाउन्डेसन मार्फत विभिन्न सहयोगी दाताहरुबाट१ लाख ५४ हजार ५ सय रुपैयाँ, हेम माया फाउन्डेसन मार्फत ३० हजार रुपैयाँ संकलन भएको थियो । राहत संकलन अभियानमा पहिरोबाट पिडित लोक दोहोरी गायीका हिरा अञ्जली राना मार्फत पनि साझा कल्याणकारी समाज नेपालबाट २० हजार तथा काठमाण्डौा स्थित दाङ सल्यान कपुरकोट होटेलका संचालक सम्शेर राना मगरबाट १० हजार पनि राहत रकम संकलन भएको थियो । पिडितलाई तत्कालको लागि आवश्यक पर्ने भएकाले राहत रकम हस्तान्तरण गरिएको र बाँकी रहेको रकम वडा स्थित राहत कोषमा जम्मा गरिने पिडित कलाकार रानाले जानकारी दिइन् ।

राहत रकम लिएर आएका कलाकारहरु प्रतिष्ठानका केन्द्रीय सचिव रेउले संगै इन्द्रेणी फाउन्डेसनका विवेक वली, लालिगुरास डटकमका म्यानेजिंग डाइरेक्टर कमल सरगम, गायिका टीका सानू, पहिरोबाट पिडित दोहोरी गायिका हिरा अञ्जली राना, पत्रकार एच आर मगर, लालिगुरास डटकमका सरद चौलागाईं, कलाकार शान्तराम सेन्चुरी लगायतलाइ स्वागत गर्दै गापा उपाध्यक्ष भण्डारीले कपुरकोट गाउंपालिकालाइ लागेको दुखको घाउमा मल्हम पट्टि लगाउने कार्य गरेकोमा धन्यवाद र आभार प्रकट गरेका थिए ।

 

वस्ती स्थानान्तरणका लागि आवश्यक निर्णय लिइने ज्वालाकाे प्रतिबद्धता

राहत उपलब्ध गराउने कार्यक्रममा सल्यानबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार ज्वालाले तत्काललाई सानो सहयोग गरिएको भन्दैे वस्ती नै पहिरोको पूर्ण जोखिममा रहेको भन्दै उक्त वस्ती स्थानान्तरण गर्नका लागि सम्बन्धीत निकायसंग थप छलफल गरेर आवश्यक निर्णय गरिने प्रतिवद्धता जनाए । यस्तै प्रदेशसभा सदस्यका लागि सल्यान ख बाट उम्मेदवार सुेरश अधिकारीले पनि पिडितहरुको राहत, पुनस्र्थापनाका लागि आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए ।

राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पुन र उपाध्यक्ष भण्डारीले गाउँपालिकाबाट तत्कालै उद्धार, पिडितलाई सुरक्षित स्थानमा राख्नका लागि काम गरिएको बताउँदै राहतको लागि पालिकाबाट र सम्बन्धीत निकायहरु मार्फत अन्य आवश्यक प्रक्रिया थालिएको बताए । सो अवसरमा कपुुरकोट ५ का वडा अध्यक्ष होमराज खड्का, वडा नं ३ का वडा अध्यक्ष प्रदिप खड्का संगै वडा नं ५ का अन्य जनप्रतिनिधी लगाएतको सहभागिता थियो ।

गत असोज २१ गते अविरल वर्षापछि आएको पहिरोले सल्लाम पात्ला गाउँमा ३ घर र ३ गोठ बगाएको थियो भने अन्य १० घर पहिरोको उच्च जोखिममा छन् । सल्लाम स्थित केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएको छ । यस्तै विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिएका छन् भने विर बहादुर रानाको पनि घर पहिरोमा बगेको छ । गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको छ । अन्य १० घरपरिवार पनि पहिरोका कारण विस्थापित छन् ।



सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

प्रकाशित मिति: २०२२-१०-१० , समय : २२:२७:०० , १ वर्ष अगाडि