‘भैलो खेल्न जाँदा मान्छे ननिस्कने घरमा बलिरहेको दियो नै निभाइदिन्थ्यौं’

Salyan Paribesh , ३७०३  पटक हेरिएको

बाल्यकाल तथा युवावस्थामा बिताएको तिहार सम्झिंदा एकदमै रमाइलो लाग्छ । त्यो बेलाको सानो सानो कुरा सम्झिंदा पनि आनन्द आउँछ । हामी चार जना दिदीबहिनी र एक भाइको असाध्यै रहर लाग्ने झन् तिहार आएपछि त भाइ भएको भए कति रमाइलो हुन्थ्यो जस्तो लाग्ने । त्यसैले आमालाई भाइ चाहियो भनेर जिद्दी गथ्यौं । पछि भाइ जन्मियो हामी असाध्यै खुसी भयौं ।

भाइ नहुँदा दाजुभाइ बनाएर पनि तिहारमा टीका लगाउने गर्थ्यौं । तैपनि आफ्नो भाइ नहुँदा साह्रै नराम्रो लाग्थ्यो । पछि भाइ भएपछि भाइसँगै अन्य दाजुभाइलाई पनि टीका लगाउँथ्यौ ।

तिहारको शुभकामना ||

तिहार आयो भन्ने बित्तिकै हामी खुसी हुन्थ्यौं । घरमा झिलिमिली दियो बाल्थ्यौं । साथीभाइसँग देउसी-भैलो खेल्न जाने । पहिले गाईतिहारको दिन मात्र केटीहरू भैलो खेल्न जाने चलन थियो, तर हामी भोलिपल्ट पनि देउसी खेल्न जान्थ्यौं ।

भाइ जन्मिएपछि हामी असाध्यै खुसी भयौं । त्यसैले भाइटीकाको दिन भाइलाई पालैपालो काखमै राखेर टीका लगाइदिन्थ्यौं । हामी सानो हुँदा ल्वाङ र जडीको माला लगाउने चलन थियो । ल्वाङजस्तै कहिले नजल्ने र अमर होस् भनेर ल्वाङ र जडीको माला लगाइदिने गरिन्थ्यो ।

बाल्यकालमा त असाध्यै रमाइलो गरेर तिहार मानिन्थ्यो । पछि हामी युवा हुँदा केही वर्ष हाम्रो तिहार अलि खल्लो भयो । एउटा मात्र भाइ ऊ पनि पढाइको सिलसिलामा विदेश गएको थियो । भाइ सात वर्ष विदेश बस्दा चाहिं उसलाई असाध्यै सम्झिंन्थ्यौं ।

बाल्यकालको हरेक कुरा विशेष लाग्छ । तिहारको बेला साथीभाइ मिलेर देउसी-भैलो खेलेको त झन् धेरै याद आउँछ । त्यो बेला त राति अबेरसम्म पनि देउसी खेल्न पाइन्थ्यो । धेरै ढिलो भयो भने आमाबुबालाई जाम न देउसी खेल्न पैसा कमाइन्छ भन्दै फकाउँथ्यौं ।

दाजुभाइले तिमीहरूले देउसी खेल्न हुन्न भन्थे । ‘कहाँ हुन्छ त्यस्तो एक दिन मात्र खेल्यो भने त तिमीहरूले बढी पैसा कमाउँछौ’ भनेर हामी देउसीको दिन पनि खेल्न जान्थ्यौं ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

चौबन्दी चोलो, सारी, लिपिस्टिक, टीका लगाएर आमाले सिंगारिदिनुहुन्थ्यो । कसले भट्याउने भनेर हानथाप गर्थ्यौं । भट्याउने मान्छेले बढी पैसा पाउँथ्यो नि त त्यसैले । देउसी-भैलो खेल्न गएको घरमा सेल र अनारसा दिन्थे, त्यो खाँदै अबेरसम्म खेल्थ्यौं । जम्मा भएको सामान भाग लगाउने चलन थियो । कोहीले चामल, कोहीले सेलरोटी र कोहीले फलफूल लग्ने भनेर सल्लाह हुन्थ्यो । तर चामल चाहिं कोही लान नमान्ने घरमै छ भनेर ।

म सानो भएकाले देउसी-भैलो खेल्न दिदीहरूले सँगै लैजान नमान्ने । त्यसैले आफ्नो उमेर समूहका साथीहरू जम्मा पारेर खेल्न जान्थे । ती साथीहरू असाध्यै याद आउँछन् । अहिले पनि कहिलेकाहीं कुरा हुन्छ । फेरि एक पटक सबै मिलेर देउसी-भैलो खेल्न जाऔं पनि भन्छन् । तर जाने मौका भने मिलेको छैन ।

तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै देउसी-भैलोको तयारी सुरु हुन्थ्यो । मेरो आमालाई साह्रै राम्रो भट्याउन आउने त्यसैले आमा सिकाइदिनु न भनेर कपी कलम र लिएर अघि बस्थ्यौं । नाच्नका लागि अभ्यास पनि गर्थ्यौं ।

काठमाडौंपछिको ठूलो सहर भएकाले विराटनगरमा बाक्लै बस्ती थियो । घर वरपर देउसी खेलिसकेर परपरको घरमा पनि खेल्न जान्थ्यौं । ठूलो घरमा धेरै पैसा दिन्छन् भन्दै जान्थ्यौं । कतिपय घरमा पैसा नै दिंदैन थिए । असाध्यै रिस उठ्थ्यो अनि धारे हात लगाएर गाली गर्दै फर्किन्थ्यौं ।

‘छानामाथि घिरौंला यो घरको मान्छे सबै यसै वर्ष मरौंला’ भन्दै पो गाली गरिन्थ्यो त । पैसा दिन ढिलो गरे भने के गर्दैछन् भनेर ढोकाबाट चिहाउने । अहिले सम्झिंदा त हाँसो लाग्छ ।

कति घरमा त कुकुर छाडिदिन्थे अनि हस्याङफस्याङ गर्दै भाग्थ्यौं । कुनै घरमा गएर भट्यायो बाहिर आउँदै आएनन् भने बलिरहेको दियो निभाएर हिंडिदिन्थ्यौं । केराको खम्बामा बाँस राखेर वरपर सिंगारेको हुन्थ्यो त्यो बास नै निकालेर बत्ती निभाएर हिंड्थ्यौ ।

देउसी-भैलोमा जम्मा भएको पैसाले रिक्सा चढेर फिल्म हेर्न जान्थ्यौं । आमाले शृंगार गरेर पठाउनु हुन्थ्यो धेरै पैसा कमाइन्छ भनेर खुब नाचिन्थ्यो । राम्रो नाचेको देखेर कति घरमा पैसा थपेर पनि दिन्थे । त्यो बेला असाध्यै खुसी र रमाइलो लाग्थ्यो ।

(दीपाश्रीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

साभार: अनलाइन खवर


बडा दशैँ तथा दिपावलीको शुभकामना

प्रकाशित मिति: २०२२-१०-२५ , समय : ०१:३८:५४ , ४ महिना अगाडि