Salyan Paribesh , १३७२ पटक हेरिएको

कार्तिक १३, २०७९
दार्चुला‚ काठमाडौँ — महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।
भारतीय तावाघाट-लिपुलेक सडकको लखनपुर क्षेत्रमा विस्फोट गराएको ठाउँ (माथि रातो घेरा) र विस्फोटपछि उछिट्टिएर महाकालीवारि आएको ढुंगा लागेर बालक पवन महराको मृत्यु भएको घटनास्थल (तल रातो घेरा) । इन्सेटमा बम विस्फोट गराउने भारतीय कम्पनी गर्ग एन्ड गर्गका प्रतिनिधि निशान्त साह (बायाँ) ले मृतक महराका बुबा हिक्मतसिंह महरालाई राहत रकम दिँदै ।
धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।

विस्फोट गराइएको स्थान दुम्लिङस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीको सीमा सुरक्षा चौकीबाट करिब ४ घण्टा टाढा पर्छ भने छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट करिब १५ किमि तल पर्छ । व्यास र दुम्लिङका सुरक्षा संयन्त्रले बालकको मृत्युबारे केही घण्टापछि मात्रै थाहा पाएका थिए । ‘विस्फोट गर्ने सूचना कतैबाट आएको थिएन,’ पवनका बुबा हिक्मतले भने ।
बालकको मृत्युपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पिथौरागढस्थित जिल्लाधिकारी आशिष चौहानलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर स्थानीय पनि आन्दोलित भएका थिए । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढस्थित जिल्लाधिकारीको कार्यालयअन्तर्गत धारचुलास्थित तहसिल कार्यालयका प्रतिनिधिको रोहबरमा मृतकका आफन्त र निर्माण कम्पनीबीच वार्ता भएको थियो । स्थानीय जनप्रतिनिधिको टोली भारतीय पक्षसँग वार्ता गर्न मृतकको परिवारलाई लिएर धारचुला पुगेको थियो ।
वार्ताका क्रममा निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै माफी मागेको हो । भारतीय कम्पनीका तर्फबाट निशान्त शाह तथा नेपालबाट व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान अध्यक्ष दिलीपसिंह बुढाथोकी, व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकी र पवनका बुबा हिक्मतसिंहले सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन् । व्यास–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार भारतीय सडक निर्माण कम्पनीका प्रतिनिधिले पीडित परिवारका बालबालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने बताएका थिए । तर निजी कम्पनी भएकाले रोजगारीभन्दा पनि उचित राहतको माग परिवारले गरेपछि १० लाख भारु उपलब्ध गराउने सहमति भएको थियो ।
भारतीय सडक निर्माण कम्पनीले मृतक पवनका बुबा हिक्मतसिंहलाई शनिबार नै राहत रकम उपलब्ध गराएको छ । हिक्मतसिंहले यसअघि पनि भारतबाट आएका ढुंगा र विस्फोटले आफ्नो घर चर्किएको, खेतमा क्षति पुगेको र गाईबस्तु मरेको हुनाले तम्बाकु क्षेत्रबाट विस्थापित भएको सुनाए ।
‘नेपाल प्रहरीले घटनास्थलको मुचुल्का बनाइदिएपछि क्षतिपूर्तिका लागि आग्रह गरेका थियौं तर भारतीय पक्षले वास्ता गरेको छैन,’ उनले भने । हिक्मतसिंह अहिले तम्बाकुभन्दा अलि माथि रहेको थी क्षेत्रमा खेती गर्छन् र गाईबस्तु पनि त्यहीं पाल्दै आएका छन् ।
वडाध्यक्ष बुढाथोकीका अनुसार गत भदौमा भारतीय सडक निर्माणका क्रममा गएको पहिरोमा परी व्यास–२ का जयलाल ओड, सुकरिब धामी, धिरेनसिंह धामी र दिनेश धामी घाइते भएका थिए । जयलाल भारतको पिथौरागढ र धिरेन धनगढीमा उपचाररत छन् । उनीहरूले अहिलेसम्म कुनै प्रकारको क्षतिपूर्ति नपाएको बुढाथोकीले बताए । विस्फोट गराएको केही महिनापछि ठूलो पहाड खस्दा उनीहरू घाइते भएका थिए । उक्त पहिरोले नेपालतर्फको व्यास जोड्ने दुम्लिङ–कल्जु क्षेत्रको घोडेटो बाटो अवरुद्ध भएको थियो ।
प्रजिअ उपाध्यायका अनुसार भारतीय पक्षसँग शनिबार भएको वार्तामा आगामी दिनमा सीमा क्षेत्रमा निर्माणका काम गर्दा र विस्फोट गराउँदा दुवै देशका प्रशासनबीच प्रभावकारी समन्वय गर्ने, स्थानीयलाई सूचना प्रवाह गर्ने र यस्ता अप्रिय घटना हुन नदिने सहमति पनि भएको छ ।
परराष्ट्रलाई गृहको पत्र
गृह मन्त्रालयले दार्चुला घटनाको पृष्ठभूमिमा सीमा क्षेत्रमा निर्माण कार्य गर्दा स्थानीयलाई पर्याप्त र प्रभावकारी सूचना प्रवाह गराउने प्रबन्ध मिलाउने तथा दुवै देशका प्रशासनबीच समन्वयमा काम गर्ने गरी भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । बालकको मृत्यु र अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको एकतर्फी बलमिच्याइँ र ज्यादतीबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार नै गृह मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसको भोलिपल्ट शनिबार गृहले घटनाबारे भारत सरकारलाई ध्यानाकर्षण गराउँदै मृतकको परिवारलाई राहत दिलाउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने कदम चाल्न भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै पत्राचार गरेको हो । ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बालकको ज्यान जाने गरी भएको घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले दार्चुला घटना अप्रिय र दुःखद् भन्दै छिट्टै भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गरिने र यस्ता घटना दोहोरिन नदिन पहल थालिने बताए । उनले गृहबाट पत्र आएकोबारे अनौपचारिक जानकारी भए पनि सार्वजनिक बिदा परेका कारण कूटनीतिक नोट पठाउन केही दिन लाग्ने बताए । ‘दार्चुला घटनाबारे गृह मन्त्रालयबाट आएको पत्र अध्ययन गर्न बाँकी छ,’ उनले भने, ‘शनिबार र आइतबार बिदा परेका कारण सोमबार पत्र हेरेर कदम चाल्छौं ।’
प्रधानमन्त्री देउवाले मौनता साधे : ओली
दार्चुला घटनाबारे पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउँदै कारबाही र पीडितको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । भारतीय सुरक्षाकर्मीले गत वर्ष तुइन फुस्काउँदा दार्चुलाकै जयसिंह धामी बेपत्ता भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवा मौन बसेको र त्यस्तै मौनता बालक मृत्युको घटनामा पनि दोहोर्याएको आरोप ओलीले लगाएका छन् । ‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चॅलाको व्यास–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन्,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’
एमाले नेता भीम रावलले पनि विस्फोट गराउँदा ढुंगा लागेर बालकको मृत्यु भएको घटनाप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘दार्चॅलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काई महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ र १४ वर्षीया सरिना महरा घाइते भएकी छन्,’ उनले भनेका छन्, ‘सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना विस्फोट गराउनु आपत्तिजनक भएको बताए ।
प्रकाशित मिति: २०२२-१०-३० , समय : ०७:२८:११ , ७ महिना अगाडि