जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । , ३९४८ पटक हेरिएको
मंसिर ०८ जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत पाएका थिए । बस्नेत ९ हजार ३१ मतान्तरले आचार्यालाई पछि पारेका हुन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए ।
बस्नेतले यो सँगै तीन पटक संदसदीय निर्वाचन जिते। २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए ।
को हुन् शक्ति बस्नेत ?
नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत २०२८ साल वैशाख १ भेरी नगरपालिका– ०१ कालेगाउँमा जन्मिएका हुन् ।
२०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्य भए । २०४९ सालदेखि पार्टीको जाजरकोट जिल्ला सेक्रेटरीको भूमिकामा रहे ।
२०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्यूरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । उनी २०५५ सालमा नेकपा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भए भने २०५७ सालमा केन्द्रीय सदस्य भए ।
२०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गरे ।
२०७१ सालमा स्थायी कमिटी सदस्य बनेका उनी हाल उपमहासचिव छन् । बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए भने २०७२ सालमा गृहमन्त्री बने । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री थिए । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी पनि राजनीतिमा सक्रिय छिन् ।
प्रकाशित मिति: २०२२-११-२४ , समय : १०:३७:०६ , ६ महिना अगाडि