दुलही ल्याउन गएका परिवारकै ६ जना लाश बने, दिदि पठाउन आएकी बहिनीले पनि छाेडिन् संसार

Salyan Paribesh , ४७१  पटक हेरिएको

माघ २२, प्यूठान ।

शुक्रबार प्यूठानकाे गाैमुखी गाउँपालिका वडा नं. ६ लिवाङबाट बेहुली ल्याउन चालकसहित ११ जनाकाे टाेली नाैबहिनी गाउँपालिकाकाे वडा नं. ६ लुङ पुगे । गाैमुखी र नाैबहिनी गाउँपालिका सिमाना जाेडिएका पालिका हुन् ।

बेहुली लिन बेहुलाकाे घरबाट चालकसहित गाडीमा १० जना गएका थिए । बिहे सम्पन्न भएपछि बेहुली पक्षबाट ३ जना थपिएर १३ जना राती फर्किन बाटाे लागे । बेहुलीकाे घरबाट राती १० बजे गाडीमा हिडेका उनिहरु बिहान करिब १ बजेतिर गाैमुखी गाउँपालिकाकाे ओखरपाटामा दुर्घटनामा परे ।

दुर्घटनामा परि याे समाचार तयार पार्दासम्म ८ जनाकाे ज्यान गएकाे छ भने ५ जना घाइते छन् । दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्कासहित ८ जनाले ज्यान गुमाए । २५ वर्षीय दुलाह दानबहादुर खड्का र मृतक वसन्त दुइभाइका छाेरा हुन् ।
[smartslider3 slider=”9″]
घर परिवार भित्रकै मानिसमात्रै बिहेमा जाने कुरा भएकाले सीमित व्यक्ति जन्ती गएका थिए । दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्। दुर्घटनामा वसन्तकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको मृत्यु भएको छ। वसन्तका १२ वर्षीय छोरा भिषण खड्का जन्ती नगएकाले घरमै थिए ।

दुर्घटनामा मृत्यु हुने अधिकांश नजिकका नातेदार छन् । कांग्रेस उपसभापति वसन्तका साला ३२ वर्षीय खिमबहादुर खत्री, वसन्तकी बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, वसन्तकी भाउजु ५२ वर्षीया नन्दी खड्काको मृत्यु भएको छ। जीप चालक ५२ वर्षीय बलबहादुर बुढा मगरकाे पनि मृत्यु भएकाे छ । यी सबै गौमुखी गाउँपालिका ६ लिवाङका हुन् ।

दुर्घटनामा ज्यान गुमाउने १८ वर्षीया बिपना जिसी भने माइतीतर्फकी हुन् । माइती तर्फबाट बेहुलीलाइ पठाउन बेहुलीकी बहिनी विपना र अर्की नातेदार २५ वर्षीया साबित्रा जिसी आएका थिए । साबित्रा गम्भीर घाइते भएकाले बुटवल रिफर गरिएको छ।

त्यस्तै घाइते बेहुलाका सहोदर भाइ १७ वर्षीय नरेश खड्काको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढामगरलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। बेहुलीको एउटा हात नै चुँडिएको छ। बेहुलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

– लेकाली अनलाइन

प्रकाशित मिति: २०२२-०२-०५ , समय : १८:२५:०५ , २ वर्ष अगाडि