मेरो लगानीबाट साभार , ९५३ पटक हेरिएको

विश्वकप हेरेर रोमान्चित बनेका नेपालीहरुले आइतवार देशकै त्यो भन्दा खतरनाक राजनीतिक हलचल हेरेर रोमान्चित बने ।
चुनाव अघिको काँग्रेससँगको गठबन्धनलाई एकाएक त्याग्दै माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री पक्का गरेपछि राजनीतिक बृत्तमा अहिले भुँईचालो गएको छ । नयाँ सरकार गठन गर्ने तयारी अवस्थामा रहेका प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत समर्थन गर्ने समाचार बाहिरिएपछि अस्ति भर्खरै मतदान गर्ने मतदाता पनि चकित भएका छन् ।
राष्ट्रपतिले सरकार बनाउन दिएको सीमा ५ बजे सकिँदै थियो । माओवादी अध्यक्ष प्रचण्ड १ बजेसम्म बालुवाटारमै थिए । उनी देउवालाई भन्दै थिए, मलाई प्रधानमन्त्री बनाउनुहोस्, गठबन्धनको मर्मलाई बुझ्नुहोस् । उता देउवा भन्दै थिए, तपाईलाई सभामुख बाहेक केही दिन सकिंदैन । प्रधानमन्त्री र राष्ट्रपति माओवादीलाई दिन नसक्ने उनको स्पष्ट संकेत थियो । पहिला एमाले र तपाईको चुनावी एकता भएर बनेको सरकारमा पनि तपाईलाई प्रधानमन्त्री दिएको थिएन । त्यसकारण हामी पनि दिन सक्दैनौ ।
देउवा आफ्ना कुरामा टसमस थिएनन् न प्रचण्ड नै लचक थिए । गठबन्धन जोगाउन लागि परिरहेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु पूर्णवहादुर खड्का, प्रकाशमान सिंहलगायतको केही सीप लागेन, उता माओवादीका जनार्दन शर्मा पनि हिस्स परे । उनी कांग्रेससँगकै गठबन्धन जोगाउन अन्तिम समयसम्म लागेका थिए ।
चुनावी नतिजा सार्वजनिक भएको यति लामो समय भइसक्दा पनि सत्ता बाँडफाँडमा गठवन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादीवीच शून्य शून्य प्रगति हुनुले गठबन्धनमा केही गडबडी हुने संकेत देखिँदै थियो, जुन आइतवार करीव चार बजे आएर भयो पनि । लामो समयसम्म काँग्रेससँगको वार्तामा कुनै प्रगति नभएपछि प्रचण्डले अर्का नेता बर्षमान पुनलाई एमालेसँग वार्ता गर्न खटाए । यो तत्काललाई काँग्रेसलाई दवावमा राख्ने चाबीमात्र थियो । किन कि प्रचण्ड आइतवार १२ बजेसम्म पनि वर्तमान गठबन्धनसँग नै जाने सोचमा रहेको उनी निकटस्थहरु बताउँछन् । तर निर्णायक भनिएको बालुवाटारको वार्तामा जव काँग्रेस प्रधानमन्त्री प्रचण्डलाई छोड्न टसमस भएन, तब नेता बर्षमानले बोकेको चाबीले सत्ताको ढोका बालकोटमा खुल्यो । प्रधानमन्त्री प्रचण्ड बन्ने निर्णयमा एमालेसहितका दलहरु पुगे ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका एमालेसँग ७८ सांसद छ । त्यहाँ उपस्थित एक नेताका अनुसार अब सरकार बनाउन एमालेसहित माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
सत्ता बाहेक सबै विषयमा मोटामोटी छलफल भएको एक नेताले मेरोलगानीलाई बताए । उनका अनुसार प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ । राष्ट्रपति एमालेलाई दिइने भएको छ ।
एमाले र माओवादी मिल्ने यो सहमतिले पाँचवटा प्रदेश सरकार बन्न पनि सहज देखिएको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी थपिँदा सातै प्रदेशसमा सरकार बन्ने देखिन्छ ।
देउवाको हठले काँग्रेसले सबै गुमायो
आलोपालोमा प्रचण्डलाई दिन नचाहने काँग्रेस सभापति देउवाको हठले हातमा आएका सबै राजकीय पदहरु काँग्रेसले गुमाएको छ भने कठीन समयमा आफुलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने सहयात्री दलहरुसँग पनि सम्वन्ध बिग्रिएको छ । आलोपालो प्रधानमन्त्री बन्न प्रचण्डलाई सहयोग गरेको भए सबैभन्दा महत्वपूर्ण राष्ट्रपति पद काँग्रेसको पोल्टामा हुने थियो । काँग्रेसले प्रधानमन्त्रीको पदलाई भन्दा राष्ट्रपतिको पदलाई महत्वपूर्ण ठान्दै छलफल अगाडि बढाएको थियो । एमालेबाट राष्ट्रपति बनेकी विद्या भण्डारी तत्कालीन प्रधानमन्त्री केपी ओलीको रक्षाकवच बन्दा मुलुकले हण्डर खाएको निष्कर्षमा काँग्रेस थियो । वर्तमान गठबन्धनबाट राष्ट्रपति सुरक्षित रहँदा रहँदै पनि काँग्रेसले किन जोगाउन नखोजेको हो, त्यहाँ देउवाको एकल हठले काम गरेको देखिन्छ । राष्ट्रपति काँग्रेसले पाउँदा प्रधानमन्त्री देउवाले आफना समकालीन र पछिल्लो समयमा उनकै सहयोगी जस्तो देखिएका नेता रामचन्द्र पौडेललाई पनि गुण तिर्ने अवसर समेत प्राप्त हुने थियो, त्यहाँ पनि देउवा चुकेको देखिन्छ । काँग्रेसले राष्ट्रपति मात्र होइन, सभामुख, उपसभामुख र सातै प्रदेशका मुख्यमन्त्रीहरु समेत गुमाएको छ ।
बिशेषगरी संसदीय दलको नेता चुनिएपछि देउवाको एकल तजवीजमा पछिल्ला छलफलहरु हुने गरेका थिए । उनका आसपासका नेताहरु बाहेक काँग्रेसका दुई जना महामन्त्रीहरु समेत सहभागी थिएनन् । लोकतान्त्रिक पार्टीमा सभापतिले पार्टीमै छलफल नै नगरी अगाडि बढ्दा जे हुनु थियो, आखिर आज त्यही भयो ।
पदका लागि नैतिकताको सौदावाजी
राजनीतिमा स्थायी शत्रु कोही हुन्नन भन्ने सुन्ने गरेकै हो तर राजनीतिमा नैतिकता हुँदैन भन्ने मानकलाई आजको घटनाले स्थापति गरेको छ । मुलुकलाई प्रतिगमन तर्फ लैजाने मतियार केपी ओली हुन् भन्दै १३ महिना पहिले उनलाई सत्ताच्यूत गर्न सफल माओवादी अध्यक्ष प्रचण्ड उनकै शव्दमा प्रतिगमनका नाइकेकै आशिर्वादमा प्रधानमन्त्री बन्न लागेका छन् । अहिलेको यो परिदृश्यपछि गएको निर्वाचनमा रुखमा भोट दिने माओवादी कार्यकर्ता र हँसिया हथौडामा मतदान गर्ने काँग्रेसका कार्यकर्ताहरु बेचैन बनेका छन् । आजको निर्णयले एमालेले सत्ताका लागि गठबन्धन भत्काउन सफल भएको छ र अन्तिममा आएर महत्वपूर्ण राजकीय पदहरु हत्याउने देखिएको छ। यस निर्णयले सबैभन्दा बढी राजनितिक लाभ एमालेले नै पाउने देखिंदैन छ किनभने उसको सबैभन्दा ठूलो रणनीति गठबन्धन फुटाएर शक्ति पुनरआर्गमन हुनु थियो । प्रचण्डको नेतृत्वमा सरकार बनाउन सघाउने राप्रपा र रासपाले अब कसरी अगाडि बढ्नेछन, त्यो भने हेर्नै बाँकी छ । जसरी सरकार बनेपनि सवैधानिक प्रावधानअनुसार २ वर्षसम्म प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बस्ने निश्चित छ । आजको निर्णयबाट माधव नेपाल विछिप्त बन्न सक्छन् किनभने आजको सत्ता लेनदेनमा उनको उपस्थिति नै छैन । एमाले नेता ओलीसँग अझै तिक्त सम्बन्ध भएका माधव नेपाल र उनको दल भने कांग्रेससँगै प्रतिपक्षमै रहने देखिएको छ । वर्तमान गठबन्धनबाट केही पद दावी गरिरहेका र १ वर्ष भएपनि प्रधानमन्त्री खान अवसर पाएको नेपाललाई भने यो घटनाले ठूलो चोट दिएको छ ।
आजको गतिविधिलाई फुटवलसँग तुलना गर्ने हो भने, देउवाले फल खेलेका छन् भने माओवादी नेता बर्षमान पुनको सहयोगमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पोष्टमा अप्रत्यासित गोल गरेका छन।
प्रकाशित मिति: २०२२-१२-२५ , समय : १९:१३:४७ , १२ महिना अगाडि