अनलाइनखबर , ६९०१ पटक हेरिएको

१० पुस, पोखरा । नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले गठबन्धन १०–१५ वर्षसम्म जाने बताउँदै आए पनि पहिला प्रधानमन्त्री बन्ने दुवै नेताको अडानले गठबन्धन फुट्यो ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग अनलाइखबरकर्मी बसन्त बस्नेतले गरेको कुराकानीको सम्पादित अंश ।
चुनावका बेलामा यो गठबन्धन १०/१५ वर्षसम्म जाने भनिएको थियो, अहिले अचानक किन टुट्यो ?
चुनावमा जनताको २–४ प्रतिशत समर्थन एउटा पार्टीबाट अर्को पार्टीमा जाँदाखेरि सत्ता परिवर्तन हुने नेपालको परिस्थिति छ । कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यति खरो थियो कि यो पालि पनि चुनावमा पुग्दासम्म ३–४ प्रतिशत मत जता गयो उसको सत्ता बन्थ्यो । ओलीजीले त्यो परिस्थिति सहज मान्नुभएन २०७४ सालमा गठबन्धन निर्माण गरेर चुनाव लड्नुभयो, अन्तिम सत्य सत्ता हो भनेर ।
हामीले उहाँकै किताब पढेर फेरि यसवर्षको चुनावमा अन्तिम सत्य सत्ता हो भनेर गठबन्धन ग¥यौं । जनताको २–४ प्रतिशत मतले सत्ता निर्माण हुने वा विघटन हुने जोखिम उठाउनुभन्दा चुनाव भन्दा पहिला सत्ता निर्माण गरौं भनेर हामीले गठबन्धन निर्माण ग¥यौं । गठबन्धनको हाम्रो मूल भाष्य पनि के थियो भने गठबन्धन नगरी सत्ता आउँछ त ? गठबन्धन नगरी चुनाव जितिन्छ त ? सत्य सबैका अगाडि थियो । जसले जसलाई झुक्याएर सत्ता प्राप्ति गरे पनि हुन्थ्यो भन्ने थियो ।
यसमा खुशी मान्नुहुन्छ भन्नुभयो भने म खुशी मान्दिन । कहिँ न कहिँ यस्तो राजनीति सकिनुपर्छ ।
राजनीतिलाई प्रतिस्पर्धाभित्र राख्न सक्यो भने राजनीति सहज हुन्छ, लोकतन्त्र बलियो हुन्छ । राजनीतिलाई वैरभावको, वैमनस्यताको ठाउँमा लिएर गयौं भने राजनीति जहिले पनि अप्ठेरोमा पुग्छ । हिजो त्यही राजनीति थियो २०७४ मा, आज पनि त्यही राजनीति सुरु भएको छ । यो राजनीति कहाँ गएर कसरी अवतरण हुन्छ, के के भएर दुर्घटना हुन्छ, के के कटुता निम्त्याउँछ, के के वैमस्यता निम्त्याउँछ भन्न सकिन्न ।
बिहान एक ठाउँमा हात मिलाएर, हातेमालो गरेको पार्टी र नेताहरु साँझ अर्को ठाउँमा पुग्ने संस्कृति त ओली, प्रचण्डले न हामी कसैले पनि भन्न सक्दैनौं यसमा हामी थिएनौं भनेर ।
अर्को कुरा, मेरो पार्टीमा अलिकति आत्तुरीको भाव छ । नेपाली कांग्रेसमा ८० वर्ष पुग्न थाल्नुभएको नेतादेखि ४० कटेका नेताहरु अग्रपंक्तिमा हुनुहुन्छ । अग्रपंक्तिमा भए पनि सबैमा आत्तुरीको भाव उत्तिकै छ ।
८० वर्ष कटेकालाई पनि आजै नभए कहिले होला र भन्ने छ । ४० कटेकालाई पनि म धेरै समय राजनीति गर्दिन अहिले नै मेरो पालो आइहाल्नुपर्छ भन्ने छ । त्यो आत्तुरीको भावबाट मुक्त गर्नुपर्छ कांग्रेस प्रतिपक्षमा बसेर संगठन गर्नुपर्छ ।
यो पालि कांग्रेसले ७ प्रतिशत मत गुमाएको छ । कांगे्रसजस्तो पार्टीले यो समर्थन फिर्ता ल्याउन काठमाडौं र प्रदेश राजधानीको सयलमा बसेर निर्माण गर्ने सत्ताबाट कांग्रेसको संगठन बन्न सक्दैन । कांग्रेस बिसर्जनको बाटोमा जाला कि भन्ने चिन्ता थियो । सरकार बन्न सकेन त्यसमा दुःख छ । कांग्रेस बिजर्सनको बाटोमा होइन, पुनर्निर्माणको बाटोमा जान्छ भन्ने लागेको छ ।
राष्ट्रपतिदेखि सभामुखसम्म, प्रदेशप्रमुखदेखि मुख्यमन्त्री, मन्त्रालयहरु कांग्रेसले ठूलै गुमाउनुपर्छ । यो घटनालाई कसरी लिनुपर्छ ?
म राजनीतिलाई दिनरातको उहापोहदेखि अलि परबाट हेर्छु । काठमाडौंका कांग्रेससमेतको सत्ता निर्माण भएको भए कांग्रेससमेतको पद बाँडफाँट भएको भए कांग्रेसका लागि, लोकतन्त्रका लागि के हुन्थ्यो त सत्तामा पुग्ने व्यक्तिका लागि त सबैभन्दा ठूलो चकाचौध हुन्थ्यो होला ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको प्रतिनिधिसभामा ठूलो पार्टीलाई बाहिर राखेर कस्तो लोकतन्त्रको अभ्यास गर्नुहोला भन्नुभएको थियो । अहिले कांग्रेस पहिलो शक्ति हुँदाहुँदै एमाले दोस्रो पार्टीले सरकार निर्माणको अग्रसरता लिएको छ, यसलाई कसरी लिनुहुन्छ ?
केपी ओलीले के अनुकरणीय काम गर्नुभएको छ र उहाँले गरेको कुराको टीका टिप्पणी गर्ने ? उहाँको अनुकरण गरेर हामीले यो पालि दुख पायौं नि त । उहाँको अनुकरण नगरेको भए त गठबन्धन बनाउँदैनथ्यौं । गठबन्धन जिन्दावाद भन्ने नाराबाट चुनाव लड्दैनथ्यौं ।
हामी नेपाली कांग्रेस जिन्दावाद भनेर नेपाली कांग्रेसको आदर्श जिन्दावाद भनेर चुनाव लड्थ्यौं । त्यसैले गठबन्धन जिन्दावाद भन्ने संस्कृति उहाँले भित्र्याउनुभयो, त्यसलाई हामीले फलो गर्यौं । त्यसको परिणाम ब्यहोरिरहेका छौं ।
त्यसैले अब उहाँका बारेमा आलोचना टीका टिप्पणी गर्ने भन्दा, उहाँलाई अनुकरण गर्ने भन्दा हामीले कांग्रेसलाई हाम्रो नेताहरुले जुन बाटोमा कांग्रेस बनाउनुभयो । २००३ सालमा बीपीले जुन आदर्श बोकेर कांग्रेस बनाउनुभयो त्यो बाटोमा जान नयाँ विन्दुबाट यात्रा सुरु भएको छ ।
कांग्रेस कम्युनिस्टको गठबन्धन नफाप्दो रहेछ होइन ?
कांग्रेस कम्युनिस्ट नै हामी कहाँ रह्यौं र ? हामी सत्ताको सुविधाका लागि जो जो सँग जहिले पनि मिल्छौं । जो जोसँग, जहिले जसलाई झुक्याएर मिले पनि हुन्छ भन्ने राजनीति न हो यो ।
प्रचण्डलाई तपाईँको के भनाइ छ त ?
सोख पूरा गर्नुभयो । अब तपाईले सुरु गर्नुभएको सशस्त्र विद्रोहको राजनीतिलाई नेपालको शान्तिको, अहिंसाको लोकतन्त्रको मूलधारको राजनीतिमा जोड्नुस् । अवसरको राजनीति होइन । तपाईँको बाटोमा हिँडेर ज्यान फाल्न तयार भएका मानिसलाई अब नेपालको शान्तिको, लोकतन्त्रको, मूलधाराको राजीतिमा जोड्नुस् ।
प्रकाशित मिति: २०२२-१२-२५ , समय : १९:४७:५४ , ५ महिना अगाडि