अनलाईन खबरबाट साभार , २८३४ पटक हेरिएको

११ पुस, काठमाडौं । बंगलादेशमा भइरहेको काभा यू-२३ पूरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन बनेको छ ।
सोमबार ढाकामा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल श्रीलंकासँग पराजित भयो । प्रतियोगितामा नेपालले खेलेको पाँचवटै खेल हारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलंकासँग ३-२ को सेटमा पराजित भयो । यसअघि लिग चरणमा पनि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
श्रीलंकासँग नेपालले पहिलो सेट जिते पनि लय कायम राख्न सकेन । त्यसपछि लगातार दुई सेट गुमायो र चौथो सेट जित्दै खेल बराबरी गरेको थियो । तर पाँचौ तथा निर्णायक सेटमा नेपाल १५-१० ले पराजित भयो ।
पहिलो सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट श्रीलंकाले २५-१९ र तेस्रो सेट पनि २५-१९ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनायो ।
चौथो सेटमा नेपालले पुनरागमन गर्दै २५-२० ले आफ्नो पक्षमा पारेर खेल बराबर गरेको थियो ।
तर अन्तिम सेटमा नेपालले लय कायम राख्न सकेन । अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पार्दै श्रीलंका खेल जितेर तेस्रो भयो ।
चार टिममात्र सहभागी प्रतियोगिताको फर्म्याट अजीवको थियो । समूह चरणमा सबैले सबैसँग खेलेर अंकका आधारमा चार टिमको वरीयता निर्धारण भएको थियो ।
तीमध्ये समूहको शीर्ष र अन्तिम हुने तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल खेलाइएको थियो ।
सेमिफाइनलमा पराजित टिमबीट तेस्रो स्थानका लागि अर्को खेल खेलाइयो ।
नेपालले प्रतियोगितामा पाँच खेल खेलेर एउटा पनि जित्न सकेन । उसले १५ सेट हार्दा ४ सेटमा जित निकालेको हो ।
प्रतियोगिताको उपाधिका लागि सोमबारै घरेलु टोली बंगलादेश र कीर्गिस्तानबीच फाइनल खेल हुनेछ ।
प्रकाशित मिति: २०२२-१२-२६ , समय : १६:३१:२६ , ९ महिना अगाडि