सल्यान परिबेश डट्कम , २७०५ पटक हेरिएको

१५ पुस, काठमाडौं । सिसौरिया–६, सर्लाहीका ५८ वर्षीय लाल मोहम्मद गोठाटारमा गार्मेन्ट उद्योग चलाइरहेका थिए । त्यसबाहेक उनी अरू गतिविधिमा संलग्न थिए/थिएनन् भन्ने मुलुकको कुनै सुरक्षा निकायसँग स्पष्ट जानकारी छैन ।
तर, ३ असोज २०७९ मा गोठाटार, काठमाडौंस्थित डेरा अगाडि अज्ञात समूहको गोली प्रहारबाट मोहम्मद मारिए । भारतीय सञ्चारमाध्यमले ‘आईएसआईका नेपाली एजेन्ट काठमाडौंमा मारिए’ भन्दै समाचार लेखे ।
उनी पाकिस्तानी खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) सँग आबद्ध थिए/थिएनन् भन्ने विवरण सुरक्षा निकायसँग छैन । मुलुकका को व्यक्ति कुन निकायसँग नजिक छन् भन्ने राष्ट्रिय अनुसन्धान विभागको जानकारी र निगरानीमा हुनुपर्ने हो । तर, उच्च स्रोतका अनुसार, हत्या हुनुअघि लाल मोहम्मद विभागको नोटिसमै थिएनन् ।
सार्वजनिक तथ्य के हो भने मोहम्मद विगतमा नक्कली नोट कारोबारसँग जोडिएका थिए । त्यसैले पनि उनी स्वतः नियमित निगरानीमा हुनुपर्ने व्यक्ति थिए । अझ उनी विरुद्ध पटक–पटक आक्रमण समेत भएको थियो ।
अनामनगर पुल नजिक २० असार २०६४ मा जाली नोट कारोबारी बलराम पटुवारको हत्यामा संलग्न रहेको अभियोगमा मोहम्मद ९ वर्ष जेल बसेर निस्किएका थिए ।
तत्कालीन अनुसन्धान अधिकृतहरूका अनुसार नक्कली नोट कारोबार गर्ने दुई समूहबीच विवाद भएपछि मोहम्मदको संलग्नतामा पटुवारको हत्या भएको थियो ।
लाल मोहम्मदको हत्या पछि अनुसन्धान गर्दै प्रहरी । तस्वीरः अनलाइनखबर
नेपालमा जाली नोट कारोबारमा संलग्न रहेका व्यक्तिको शृंखलाबद्ध हत्या हुने गरेको इतिहास छ । त्यसैले सामान्य रूपमा पनि मोहम्मद जोखिममा रहेका व्यक्ति भएको देखिने सुरक्षा सम्बद्ध अधिकृतहरू बताउँछन् । त्यही बुझेरै उनले आफ्नी छोरीलाई निजी सुरक्षा गार्डका रूपमा पनि प्रयोग गर्न मिल्ने गरी कराते सिकाएका थिए ।
‘उहाँलाई बाहिरका कोही मान्छेप्रति विश्वास थिएन, त्यसैले छोरीलाई कराते सिकाउनुभएको थियो’, मोहम्मदबारे जानकार एक अधिकारी भन्छन् । तर, त्यस दिन छोरीले घरको दुई तला माथिबाट फाल हानेर पनि बुबा लाल मोहम्मदलाई जोगाउन सकिनन् ।
मूल बाटोसम्म गोली चलाउनेलाई पछ्याए पनि दुवै शूटर उम्किए । मोहम्मद स्वयंले एक साताअघि आफूलाई सुरक्षा खतरा रहेको भन्दै प्रहरी बिट, गोठाटारमा लिखित निवेदन दिएका थिए । प्रहरीले गम्भीरतापूर्वक लिएन ।
जानकारहरूका अनुसार मोहम्मदको हत्या प्रयास भएको त्यो पहिलो पटक थिएन । २५ जेठ २०७३ मा जेलमुक्त भएको केही महिनामै दुई भारतीय नागरिक हतियारसहित उनको घरमा पुगेका थिए । मोहम्मद भेटिएनन्, छोरीसँग घम्साघम्सी भयो ।
छोरीकै सूचनाको आधारमा बौद्ध प्रहरीले रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई नारायणटारबाट हतियारसहित पक्राउ गर्यो ।
विशेष ब्यूरोको एक प्रतिवेदन अनुसार त्यसबेला भारतको आन्तरिक सुरक्षा मामिलामा गुप्तचरी गर्ने निकाय इन्टेलिजेन्स ब्यूरो (आईबी) को संलग्नता देखिएको थियो । जेलमै रहेका बेला पनि मोहम्मदको हत्या प्रयास भएको सुरक्षा अधिकृतहरू बताउँछन् ।
झण्डै ८ वर्षअघि गृह मन्त्रालयलाई भारतीय खुफिया एजेन्सीबाट सूचना आयो, भारतको इस्लामिक आतंकवादी समूह ‘इण्डियन मुजाहिद्दिन’का चार लडाकु डा. सहनवाज, अबु रसिद, मोहम्मद खालिद र सलमान शेखले नेपाली नागरिकता र पासपोर्ट बनाएका छन् ।
सन् २००८ को शृंखलाबद्ध विस्फोटनमा संलग्न उनीहरूले सुनसरीको हरिनगरा गाउँपालिका, भुटाहा बजारमा सेल्टर लिएर बसेको भारतीय पक्षको दाबी थियो । यसमा स्थानीय शिक्षक खुर्सिद अन्सारीले उनीहरूलाई सहयोग गरेको भारतीय पक्षको दाबी थियो । पछि गृह प्रशासनले गरेको छानबिनका क्रममा चारै जनाले नेपाली नागरिकता लिएको पुष्टि भयो ।
यो घटनापछि भारतीय सुरक्षा निकायले पटक–पटक अन्सारीलाई ‘बुझाइदिन’ नेपाली पक्षलाई अनुरोध गरिरह्यो । जिल्ला प्रहरी कार्यालय, सुनसरीको नेतृत्व गरेका एक जना पूर्वप्रहरी उपरीक्षक (एसपी) का अनुसार गृह मन्त्रालयसम्म यो सूचना पुग्नुअघि अन्सारीलाई खोज्दै भारतीय प्रहरीको टोली नै सुनसरी आइपुगेको थियो ।
तर, तत्कालीन समयमा जिल्ला विकास समिति, सुनसरीका मनोनीत सदस्य रहेका उनलाई भारतीय प्रहरीले लैजान सकेन । वामदेव गौतम गृहमन्त्री भएका बेला पनि अन्सारीलाई बुझाइदिन भारतीय पक्षले अनुरोध गरेको थियो । यसबाट अन्सारी उच्च सुरक्षा थ्रेटमा रहेको देखिन्थ्यो ।
तर, उनी टार्गेटमा रहेको पर्याप्त सूचना हुँदाहुँदै पनि नेपाली सुरक्षा निकायले उनीमाथि निगरानी बढाएका थिएनन् । न उनका गतिविधि के छन् भन्ने अनुसन्धान नै गरेको थियो । राष्ट्रिय अनुसन्धान विभागमा हरेक जिल्लामा उप–अनुसन्धान निर्देशक (एसपी सरह) नेतृत्वको संयन्त्र छ ।
तर, सुनसरीका अधिकारीहरूको आँखामा अन्सारी कहिल्यै परेनन् । ‘जम्मा २२ जनाको टोली हुन्छ, बजेट पनि खासै हुँदैन’ एक अधिकारी प्रश्न गर्छन्, ‘आफैं विचार गर्नुस् जिल्लामा गुप्तचरले के गर्न सक्ला ?’
नेपाल प्रहरीका एक सुरक्षा अधिकृतका अनुसार खुर्सिदलाई त्यहीं कारबाही गरेर भारतविरुद्ध गतिविधि हुन दिन्नौं भन्ने सन्देश दिने अवसर पनि थियो । तर, उनका गतिविधि सुरक्षा निकायको ‘र्याडर’ मा पर्न नसक्दा अन्सारी ४ असोज २०७५ मा दिनदहाडै भुटाहा बजारमा गोली हानेर मारिए ।
नेपाल प्रहरी हेरेको हेर्यै भयो, राष्ट्रिय अनुसन्धान विभाग चुइँक्क गरेन । सीमामा खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को टोलीले आक्रमणकारीलाई लखेट्यो । तर, रोक्न सकेन । सशस्त्र प्रहरीकै केही अधिकारीको सूचनाको आधारमा आक्रमणकारीको हुलिया चाहिं बनेको छ ।
प्रकाशित मिति: २०२२-१२-३० , समय : १०:५८:४५ , ११ महिना अगाडि