बढ्दैछन् रुघाखोकीका बिरामी, बेवास्ता गरे निमोनियाको जोखिम

सल्यान परिबेश डट्कम , ९३७  पटक हेरिएको

रुघाखोकी र ज्वरोको समस्या देखिएपछि बालाजु बस्ने १७ वर्षका सन्तोष पन्तले केही दिन घरमै आराम गरे । तर, नाक बन्द हुने, मुखबाट सास फेनुपर्ने र खोकी लागेर स्वासप्रश्वासमै समस्या हुन थालेपछि उनी छाती रोग विशेषज्ञ डा. राजु पंगेनी कहाँ पुगे ।

‘निरन्तर खोक्दा छाती बज्ने, हिँड्डुल गर्दा सास फर्ने गाह्रो हुने रहेछ’, डा. पंगेनीले भने, ‘ती बिरामीलाई साधारण औषधिले पनि काम नगरेर मुखबाट तात्ने औषधि दिनुप¥यो ।’

गोठाटार बस्ने २० बर्षीया रक्षा गौतमलाई पनि रुघाखोकी, ज्वरो, सुख्खा खोकी, घाँटी दुख्ने, शरीर र टाउको दुख्नेजस्ता समस्या देखियो । घरमै आराम गरेकी उनी पाँच दिनपछि सास फेर्नै गाह्रो हुने, लगातार खोकी लाग्ने र शरीर दुख्ने समस्या देखिएपछि सोमबार त्रिवि शिक्षण अस्पताल पुगिन् ।

शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास पछिल्ला दिनमा रुघाखोकीका बिरामी बढ्दै गएको बताउँछन् । ‘कोरोनाकालमा मौमसी रुघाखोकीको रिपोर्टिङ र परीक्षण कम भएको थियो’, डा. दासले भने, ‘तर, अहिले रुघाखोकी भएका बिरामी बढ्दो क्रममा छ । समुदायमा फ्लु व्यापक रुपमा फैलिएको देखिन्छ ।’

मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो । इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा ‘फ्लु’ भनेर चिनिन्छ । हुनत यो समयमा मौसमी फ्लु देखिनु सामान्य हो । चिकित्सकका अनुसार जाडोकोसमयमा फ्लुको संक्रमण बढी देखिने गरेको छ ।

पुस–माघ र असार–साउन गरी वर्षमा दुई पटक मौसमी फ्लुको समस्या बढी देखिन्छ । यो समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।



चिकित्सकका अनुसार यसको सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा हुन्छ । तर, हिजोआज युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने र छाती निरन्तर घ्यारघ्यार हुने नयाँ समस्याका रुपमा देखिएको छ ।

‘जाडो मौसममा प्रदुषणको मात्रा बढ्छ र हावा सुख्खा हुन्छ । यस्तो जुन श्वासप्रश्वासका लागि घातक मानिन्छ’, छाती रोग विशेषज्ञ डा. पंगेनी भन्छन् ।

दुई हप्तायता रुघाखोकीका बिरामी अत्यधिक बढेको वीर अस्पतालका छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुंगाना बताउँछन् । यो समय मौसमी बिरामी देखिनु सामान्य भए पनि संख्या धेरै हुनु असामान्य भएको उनको भनाइ छ ।

‘अहिले ओपीडीमा आउने दुई तिहाइ बिरामीमा रुघाखोकी र घ्यारघ्यार हुने समस्या देखिएको छ । पहिला एलर्जी हुने तथा श्वासप्रश्वास सम्बन्धी दीर्घ समस्या भएकालाई बढी असर गर्ने गरेको थियो’, डा. ढुंगानाले भने, ‘अहिले स्वस्थ र पहिला एलर्जी नभएको युवा र बालबालिकामा रुघाखोकी र छातीका समस्या देखिएका छन् ।’

हिजोआज वीर अस्पतालको अस्पतालको बहिरंग विभागमा दैनिक ५०–६० जना रुघाखोकीका बिरामी जँचाउन आउने गरेका छन् । उनका अनुसार स्वास्थ्य जाँच गराउन आउनेमा युवा र बालबालिकाको संख्या पनि धेरै छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दास चिसो मौसममा धेरै भाइरस फैलिने तर धेरै बिरामीले सामान्य रुपमा लिँदा जटिलता देखिएको बताउँछन् ।

के हो फ्लु ?

इन्फ्लुएन्जा ए समूहमा पर्ने स्पेनिस फ्लु पहिलो पटक सन् १९१८ मा देखा परेको थियो । यही भाइरसले स्वरुप परिवर्तन गरेर सन् २००९ मा स्वाइन फ्लुको रूप लिएको थियो ।

चिकित्सकहरुका अनुसार पछिल्लो समय मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ‘ए (एच १एन १) पीडीएम ०९’ देखिएको छ । यसलाई बोलीचालीको भाषामा स्वाइन फ्लु र इन्फ्लुएन्जा ‘ए– एच ३’ देखिएको छ  ।



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भाइरसको कारणले फैलिने गर्छ ।

यी दुवैको भाइरस फैलिने तरिका एउटै किसिमको हुन्छ । यसको संक्रमण हुँदा अत्यधिक ज्वरो, रुघाखोकी, शरीर तथा जोर्नी दुख्नु, थकान महसुस हुनु, घाँटी खसखसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या आउनु, आँखाको गेडी दुख्नु र बालबालिकालाई पखाला लाग्नेजस्ता लक्षण देखिन्छ ।

‘ए’ इन्फ्लुएन्जा महामारीजस्तै गरी फैलिन सक्ने भएपनि ‘बी’ भने एजत्तिको घातक नहुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । स्वाइन फ्लु र हङकङ फ्लुजस्ता फ्लुले मानिसलाई सिकिस्त बनाउँछ । यी दुबै फ्लुको टाइप ‘ए’ अन्तर्गत पर्छन् ।

अस्पताल कति बेला जाने ?

ज्वरो आएको केही दिनसम्म निको नभए वा रुघाखोकीसँगै वान्ता, झाडापखाला, खाना नरुच्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।

समयमा नै उपचार नगरे इन्फ्लुएन्जाको संक्रमणका कारण निमोनिया भई बिरामीको ज्यान समेत जानसक्ने डा. पुन बताउँछन् ।

चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा हराएर जान्छ । तर रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा रुघाखोकीले पनि निमोनियाको रुप लिन सक्छ । बर्सेनि यस्तै रुघाखोकीले दीर्घरोगी, दम, मधुमेह, क्यान्सर र मिर्गौलाका बिरामी, गर्भवती तथा बालबालिकाको स्वास्थ्य जोखिममा परिरहेको हुन्छ ।

‘एक सातापछि पनि रुघाखोकी ज्वरो, वान्ता हुनेजस्ता लक्षण निको नभए तुरुन्तै चिकित्सककहाँ जानुपर्छ, नत्र निमोनिया हुने सम्भावना बढ्दै जान्छ’, डा. पुनले भन्छन्, ‘समयमै उपचार नपाउँदा बिरामीको मृत्युसमेत हुन्छ ।’

मौसमी रुघाखोकी लामो समयसम्म रहँदा पनि अस्पताल नगए निमोनिया हुन सक्ने त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. दास बताउँछन् । ‘निमोनिया लगायतका कारण शरीरमा जटिलता देखिएर शरीरका अंगले काम नगर्ने (मल्टी अर्गान फेलर) भएर मानिसको मृत्यु समेत हुनसक्छ’ उनी भन्छन् ।

रुघाखोकी लाग्दा झोलिलो खानेकुरा खाने र केही दिन घरमै आराम गरे ठीक हुन सक्छ । ‘घरमै आराम गर्ने र गेडागुडी र झोल पदार्थ सेवन गरेमा संक्रमणको असर बिस्तारै कम हुँदै जान्छ’, डा. पुन भन्छन् ।

मास्क लगाएर हिँड्न र रुघाखोकीबाट हुने संक्रमणबाट बच्न वर्षमा एकपटक खोप लगाउन चिकित्सकहरु सुझाव दिन्छन् । गर्भवती, दम, क्यान्सरको समस्या भएका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगको समस्या भएका जस्ता व्यक्तिलाई खोपले फाइदा पु¥याउँछ ।

‘उनीहरुको रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यसकारण उनीहरुलाई वर्षमा एकपटक इन्फ्लुएञ्जाको खोप लगाउन सकिन्छ । खोप लगाउँदा मौसमी रुघाखोकीबाट जोगिन र यदि लागिहाल्यो भने पनि धेरै जटिल असरलाई न्यूनीकरण गर्छ,’ डा. पुनले भने ।

मौसमी फ्लु खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । यस्ता फ्लु मौसम परिवर्तन हुने बेलामा देखिने हुँदा त्यस्तो बेलामा सतर्क हुनुपर्ने डा. पुन सुझाव दिन्छन् ।

कसरी बच्ने ?

१.भीडभाडमा नजाने

२. बिहान सकभर घरबाहिर नजाने

३. घरबाहिर निस्किदा मास्क प्रयोग गर्ने

४. आँखा, नाक र मुखमा हात नलैजाने

५. बालबालिका र दीर्घरोगीलाई न्यानोमा राख्ने

६. रुघाखोकी लागेका मानिससँग टाढा रहने

७. पोषिलो र झोल पदार्थ प्रशस्त खाने

८. इन्फ्लुएञ्जाको खोप लगाउने


पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २३:१३:३९ , ४ हप्ता अगाडि