सल्यान परिबेश डट्कम , १२५१ पटक हेरिएको

काठमाडौं । बुद्ध एयर १७ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरुन्तै भारतको वनारसमा उडान भर्न चाहन्छ । २८ कात्तिकमा नै बुद्धले पोखरा–बनारसमा साताको तीन (आइतबार, मंगलबार र बिहीबार) उडान गर्ने र भविष्यमा पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा उडान भर्ने योजना सार्वजनिक गरेको थियो । तर, विडम्बना के भयो भने १७ पुसमा पोखरा विमानस्थल उद्घाटनकै दिन बनारसबाट चार्टर्ड उडान गर्न चाहेको बुद्ध एयरले भारतबाट अनुमति पाएन ।
यो प्राविधिक रुपमा सम्भव नभएर संयोग मात्रै थियो कि भारतको नियत ?
उड्डयन प्राधिकरणका अधिकारीहरु बुद्ध एयरले पोखराबाट बनारस नियमित उडान गर्न अनुमति पाए मात्रै यो प्रश्नको जवाफ पाइने बताउँछन् । ‘अहिले नै किन आशंका जनाउने, केही समय पर्खौं,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्धलाई पोखरा विमानस्थलबाट अनुमति नदिनुपर्ने प्राविधिक कारण छैन ।’
तर, पोखरा विमानस्थललाई भारतले प्राविधिक दृष्टिले मात्रै हेर्छ कि रणनीतिक तथा सामरिक पक्षबाट पनि चिह्याउँछ ? यसको जवाफ केही समयभित्रै पाइने छ । तर, पोखरा विमानस्थलसँग भारतका शहरहरुमा उडान हुने विषय साधारण र नियमित प्रक्रियाबाट टुंगिनेमा संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरु सशंकित छन् । उनीहरुलाई आशंका छ, ‘कतै पोखरा विमानस्थलललाई व्यवसायिक रुपमा सफल बन्नबाट रोक्ने गरी भारतबाट असहयोग हुन्छ कि ?’
भारतले चाहन्छ होला पोखराको सफलता ?
त्यस्तो आशंका जनाउनुपर्ने कारण हो, पोखरा विमानस्थलमा भएको चिनियाँ ऋण लगानी र चीनसँगको भारतको उतारचढावपूर्ण सम्बन्ध । महँगो चिनियाँ लगानीमा बनेकोले व्यावसायिक रुपमा यो विमानस्थल सफल हुन्छ कि हुँदैन भन्ने आशंका छँदैछ । यो विमानस्थल सफल हुन चीन, भारतदेखि अन्य देशका पर्यटकहरुलाई विभिन्न अन्तर्राष्ट्रिय हवाई अड्डाबाट सीधा उडानमार्फत पोखरा झार्नुपर्ने हुन्छ ।
ऋणको किस्ता (सावाँ ब्याज) तिर्न र सञ्चालन खर्च जुटाउन मात्रै यो विमानस्थलले वर्षमा करिब साढे २ अर्बभन्दा बढीको ‘बिजनेस’ गर्न सक्नुपर्छ । पोखरा विमानस्थललाई बिजनेस दिन भारत र चीनका विभिन्न शहरबाट पर्यटकलाई सोझै पोखरा झार्नु सबैभन्दा बढी सम्भाव्य विषय हो । आफू पनि जोडिएको परियोजना भएकाले चीनले पोखरालाई हवाई मार्गबाट जोड्न केही उडान गर्ला भन्नेमा द्विविधा छैन ।
तर, पोखरा विमानस्थलका्े सफलतासँग जोडिने गरी गरिनुपर्ने सहमति, पाउनुपर्ने अनुमति र सहयोगका मामिलामा भारतले के गर्ला ? उड्डयन मामिलाका विज्ञहरु चिनियाँ लगानी समेत रहेको नेपालको यति ग्रुप स्वामित्वको हिमालय एयरलाइन्सलाई भारतले अहिलेसम्म आफ्ना शहरहरुमा उडान भर्न अनुमति नदिनुलाई नै यसको जवाफ मान्छन् ।
त्यति मात्रै हैन, पोखरा विमानस्थललाई सफल बनाउन सर्वप्रथम भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुटको निर्धारण अत्यावश्यक देख्छन् उनीहरू। भैरहवाको गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पायक पर्ने रुट नपाएका कारण समेत विदेशी वायुसेवा कम्पनीको आँखामा पर्न नसक्दा पोखराले त्यही नियति भोग्नुपर्ने अनुमान विज्ञहरुको छ ।
भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर भारतसँग प्रस्ताव गरिएका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटबाट विमान नेपाल भित्रिन दिन भारत सरकार सहमत भइसकेको छैन । त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्राधिकरणले खासै जोडबल पनि लगाएका छैनन् ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नयाँ एयर रुट र प्रवेश विन्दुबारे भारत सरकारसँग आवश्यक पहल र समन्वय भइरहेको बताउँछन् । ‘पर्याप्त पहल भएको छ’, उनी भन्छन्, ‘पश्चिम नेपालबाट हवाई प्रवेश विन्दुका लागि भारत सरकार सहमत हुने विश्वास छ ।’
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशतर्फ प्रवेश गर्न रुट खुला राखेको छ ।
ती विन्दुबाट विमानलाई नेपालतर्फ प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ । भारतको असहमति र नेपालको कमजोर कूटनीतिक पहलले ३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ ।
गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द दाहाल पश्चिम नेपालबाट हवाई प्रवेश विन्दुसहितका रुट आवश्यक रहेको बताउँछन् । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित हुने उनको भनाइ छ ।
अधिकारीहरुका अनुसार नेपालगञ्ज वा महेन्द्रनगर प्रवेश विन्दु रहने गरी एयर रुट खुला भए तुरुन्तै केही विदेशी एयरलाइन्सहरुले भैरहवामा उडान थाल्ने सम्भावना छ । यी रुटहरु पोखराका लागि पनि पायक पर्ने र अत्यावश्यक हुन् ।
पर्यटन मन्त्रालयका सहसचिव लामिछानेका अनुसार नेपालमा हुनेमध्ये ६०–७० प्रतिशत अन्तर्राष्ट्रिय उडान पश्चिम नेपालकै रुटबाट हुन्छ । तर, नेपालमा हवाई सेवा सुरु भएदेखि नै अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले सिमराकै हवाई विन्दु प्रयोग गर्नु परिरहेको छ । भुटानबाट आउने विमानले पूर्वको झापा र ल्हासाबाट आउने विमानले नुनिम विन्दु (ब्राबो ३४५) हवाई विन्दु पाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पश्चिम रुट ((गल्फ ५८९) खाडी राष्ट्र अर्थात् मध्यपूर्वी देशहरु, टर्की, भारतको नयाँ दिल्ली जस्ता क्षेत्रबाट उडान भर्ने विमानहरु आउँछन् । पूर्वी रुट (रोमियो ५८१) बाट भने भारतको कोलकातासहित बंगलादेश, थाइल्यान्ड, मलेसिया, हङकङ, सिंगापुरलगायतका क्षेत्रबाट विमानहरुले उडान भर्छन् ।
पश्चिम र पूर्वतर्फ भारतले नेपालले मागेअनुसार प्रवेश विन्दु नदिँदा भारतीय भूमि हुँदै सिमारासम्म आउनुपर्ने झन्झटका कारण नेपाल आउने विमानले घुमाउरो रुट प्रयोग गर्नु परिरहेको छ । पूर्व वा पश्चिम जुन रुटबाट आएपनि विमानहरु सिमराकै विन्दुमा आएर काठमाडौं प्रवेश गर्न बाध्य छन् ।
नेपाली अधिकारीहरुका अनुसार भारतले महेन्द्रनगर वा पश्चिम नेपालको कुनै भागबाट प्रवेशविन्दुका लागि अनुमति दियो भने नेपाल आउने ७० प्रतिशत विमान सिमरातर्फ नगई सोझै नेपालको आकाशमा प्रवेश गरेर काठमाडौं, पोखरा र भैरहवामा अवतरण गर्न सक्छन् ।
तर, भारतले नेपाललाई वर्षौंदेखि सिमराको हवाई विन्दु मात्रै प्रयोग गर्न दिएर पूर्व–पश्चिमबाट आउने सबै विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न बाध्य पारेको छ । यसरी नेपाल आउने विमानले लामो समय भारतीय आकाश प्रयोग गरेबापत सम्बन्धित वायसेवा कम्पनीले तिर्नुपर्ने नेभिगेसनसहित विभिन्न सेवा शुल्क भारत सरकारकै पोल्टामा पुगिरहेको छ ।
नेपालले मागअनुसार प्रवेश विन्दु पाउने हो भने नेपाली आकाशको प्रयोगबाट नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुले सेवा शुल्कहरुबाट आम्दानी पनि गर्नसक्ने थिए । अहिलेको अवस्थामा भने घुमाउरो रुटले बढी समय लागेर विमान कम्पनीहरुको खर्च बढेको छ । यति मात्रै होइन यात्रुको हवाई टिकट पनि महंगिएको र लम्बिएको एयर रुटका कारण वायु प्रदूषण समेत बढेको छ ।
विज्ञहरुका अनुसार जति लामो उडान हुन्छ, उति नै हवाई सुरक्षा जोखिम पनि बढ्दै जान्छ । यस्तो अवस्था जान्दाजान्दै पनि भारत नेपाललाई पूर्व सहमतिअनुसार एयर रुट दिन तयार छैन ।
भैरहवामा उडान गर्ने विमानले भैरहवा वा महेन्द्रनगरबाट एयर रुट पाए उडान समय २५ मिनेट छोटिन्छ । सिमाराबाटै प्रवेश गरेर पोखरा पुग्नुभन्दा भैरहवाबाटै प्रवेश गर्न अनुमति पाए उडान समयावधि र लागत दुवै घट्छ । उडान लामो हुँदा विमान सञ्चालन खर्च बढेर कम्पनीहरुको नाफाको हिस्सा गुम्छ । यसले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चाहाने एयरलाइन्सहरुलाई पनि निरुत्साहन गरिदिन्छ ।
विमानस्थल सञ्चालनमा एयर रुटले व्यवधान ल्याएकोबारे जानकार हुँदाहुँदै पनि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गरेको छैन । यी दुवै विमानस्थल बनाउन थालेकै बेलादेखि भारतले पायक ठाउँबाट रुट नदिने चर्चा थियो । तर, नेपाल सरकारले भने एयर रुट पाउनु आफ्नो अधिकार भएको तर्क गर्दै आएको थियो ।
नेपाली पक्षको मागअनुसार २०७३ पुसमा हवाई प्रवेश विन्दु सम्बन्धी कोलकाता बैठक भएको थियो, जुन बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि २०७४ असोजमा बस्ने भनिएको बैठकमा निर्वाचन आचारसंहिताका कारण नेपाली टोली जान सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाएका थिए ।
त्यसकै आधारमा २ असार २०७५ मा नेपाल नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर रुटलाई दुईतर्फी बनाउने र अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटसहित प्रवेशमार्ग दिने सम्बन्धमा विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सक्ने सहमति भएको थियो । त्यसअनुसार उडान सुरक्षा मूल्यांकन टुंगो लगाउन नेपाली टोली दिल्ली पुग्दा एयरपोर्ट अथोरिटी अफ इन्डिया हवाई रुट थप्ने सहमतिबाट एकाएकपछि हटेको थियो ।
नेपाली अधिकारीहरुका अनुसार, भारतीय पक्ष ‘हाम्रो सेनाले पश्चिमबाट प्रवेश विन्दु दिन नमिल्ने जानकारी दियो’ भन्दै एयर रुटको विषय बन्द गर्न खोजिरहेको छ । सो रुटको भूभागमा सेनाका बेस क्याम्पहरु रहेकाले एयर रुट र प्रवेश बिन्दु दिन नमिल्ने जवाफ भारतले दिएको थियो ।
पटक–पटक यस्तो जवाफ दिएकाले भारत सहजै पश्चिम नेपालबाट प्रवेश विन्दु दिन तयार हुन्छ भन्नेमा प्राधिकरणका अधिकारीहरु विश्वस्त छैनन् । किनकी प्राधिकरण स्तरको पत्राचार र अनुरोधले भारतीय पक्ष गलेको छैन ।
एयर रुट मात्रै हैन, भैरहवा विमानस्थलमा नेपालले जोडेको कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्नसक्ने प्रणाली ‘आईएलएस’ प्रयोग गर्न समेत भारतले अनुमति रोकेको छ । हवाई विभागका पूर्वमहानिर्देशक तथा पूर्वासचिव यज्ञप्रसाद गौतमे भारतले सद्भाव देखाएरै पश्चिम नेपालबाट प्रवेश विन्दु दिनुपर्ने बताउँछन् । ‘उच्चस्तरबाट पहल गरेर सद्भावको वातावरण बनाउने काम नेपालको पनि हो’, उनी भन्छन् ।
भैरहवा विमानस्थललाई सहज रुपमा चल्न दिन सहयोगी नदेखिएको भारतले पोखरालाई कसरी हेर्ला त ? यो प्रश्न बाँकी रहेकै अवस्थामा छिमेकी चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनालाई ‘बीआरआई’ अन्तरगतको परियोजना भएको दाबी गरिदिएको छ । यसकै कारण पनि कतै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन र भारतको रणनीतिक स्वार्थको चपेटामा पर्ने हो कि भन्ने आंशका बढेको छ । भारतले विगतदेखि नै चीन जोडिएका परियोजनालाई निको व्यवहार नगरेको छर्लङ्ग छ ।
फेसबुक को प्रेम –
प्रकाशित मिति: २०२३-०१-०६ , समय : ०१:४१:१० , ५ महिना अगाडि