कल्पना परियारको कविता : अपनत्व

तुला राम डाँगी क्षेत्रि , ३७०२  पटक हेरिएको

कविता : अपनत्व
लेखक : कल्पना परियार
——————————
फूलहरुको बगैँचामा रङ्ग खोज्दै गर्दा
अलमलाएको भमरा जस्तै
गन्तव्य खोज्दै रफ्तारमा दौडिएको नदीको तरंग जस्तै
खोज्दै हिड्ने क्रममा म आफैलाई बिर्सिएर भौतारीएको छु ,
आत्मीयताको खोजीमा , प्रेमको खोजीमा ….
चोकचोक ,गल्लीगल्लीमा , छ्हारीमुनि यत्रतत्र
हजारौँ प्रेम जोडी मुखमा मुख जोडेर प्रेम
साबित गरिहन्छन खुलेआम
र च्वाट्ट चुडिन्छन् तन्किएको रबर जसरी
अब भन प्रिय म आफूलाइ कहाँ भेटाउँ …
यतैकतै
सम्बन्ध खोज्दै हिड्नेहरुको लस्कर भेटिन्छ अचेल
म सम्बन्धमा ज्वारभाटा चलाउनेहरुसँग तैरीन पुग्छु
कहिले वारि कहिले पारि …
सम्बन्धमा आत्मीयता पाउन म कहाँ कहाँ भौँतारीएन
जहाँ पुग्दा पनि म आफैलाइ बिर्सिएको हुन्छु ,
र त
दुनियाँसँग गरिरहे सहानुभूतिको आश मात्र
जहाँ कोहि अनुभुतीको दम्भ छाडेर जान्छ
अक्सर खोक्रो आडम्बरलाइ बिछ्याएर
जसलाई म सत्य मानेर भ्रम पिइरहन्छु …
मलाई कहिलै बोध नभएको आफ्नै लाचारीपन हो
अन्धकारमा उज्यालो हेर्न प्रेमको खोजीमा
आफैलाइ बिर्सिएको ..
म एक्लो देखिएको हुँ तर आफैमा सबथोक छु
प्रेम , घृणा , रिस , आलस्य सबै म सँगै छन् ,
जसरी साँझ गरीरहन्छ बिहानसँग
हरेक दिन लुप्त प्रेमिल स्पर्श
उस्तै छ मेरा हातहरुले नछोइकन
अनुभुती गरीरहने अदृश्य मनसँगको प्रेम
र मनकै आग्रहमा चुपचाप हिडिहरहने स्नीग्ध तन
यदि सम्बन्धहरुमा मापन हुँदो हो त
म आफैलाइ उभ्याउने थिएँ
म आफै भित्रको घनिष्टता पुष्ट्याइँ गर्न ….
म आफैसँग हरक्षण गरीरहन्छु अनन्त प्रेम
घरी मन जलेको बेला आँखा
अश्रुधारा खसाइ शीतल बनाउँछ
घरी तन दुखेको बेला मन सहानुभूतिको मलम लगाउँछ
यो मन र तनको सम्बन्ध पनि बढो अजिब लाग्छ
कहिलै मन बोकेर शरीर हिड्छ
कहिले शरीर बोकेर मन उड्छ

सायद यी दुबै नहुदा हुन त जिन्दगी नहुदो हो ।


फेसबुक को प्रेम –

प्रकाशित मिति: २०२३-०१-०७ , समय : १६:०२:३० , १ महिना अगाडि