चलचित्रमा ‘हिरो’ बन्ने सपना बोकेका ऋषिराज सफल निर्देशक

हिमालय टाइम्स , १०४७  पटक हेरिएको

काठमाडौं । कक्षा ७ मा पढ्ने समयमा चलचित्रको हिरो बन्छु भन्दै जन्म ठाँउ दाङदेखि भागेर काठमाडौं आएर धेरै निर्देशक निर्मातालाई भेटनुभएका ऋषिराज आचार्य जसरी भएपनि चलचित्रको हिरो बन्न चाहनुहुन्थ्यो । स्कुल पढ्दा नै आफूलाई हिरो कल्पना गर्दै पर्खाल बाट हाम फाल्ने, लामो लामो कपाल पाल्ने, हिरोले बोल्ने ‘डाइलोग’ बोल्ने आदि गतिविधि उहाँ गर्नुहुन्थ्यो ।

त्यो देखेर शिक्षक तथा साथीहरूले यो त पक्कै फिल्ममा जान्छ भन्थे । कोही भन्थे आफ्नो मान्छे नभई कसरी फिल्ममा खेल्छ ? तर उहाँलाई लाग्थ्यो आफ्नो मान्छे नभए पनि म जसरी भएपनी चलचित्रमै काम गरेर चर्चित व्यक्ति बन्न चाहन्छु ।
आठ वर्षको हुँदा पहिलो पटक चलचित्र हेर्नुभएका आचार्यलाई आफू पनि हिरो बनेर समाजमा सबैको राम्रो सबैले मन पराउने मान्छे बन्न मन लाग्यो । पत्रिका पढेर चलचित्र काठमाडौंमा बन्छन् भन्ने थाहा पाएपछि उहाँ ५५० रुपैयाँ लिएर काठमाडौं भागेर आउनुभएको थियो । किनकि घरमा उहाँलाई पढ्न पर्छ भन्नुहुन्थ्यो सोधेको भए पनि काठमाडौं जाने अनुमति सायद मिल्दैनथ्यो ।

पत्रिका पढेर निर्देशक निर्माताको ठेगाना पत्ता लगाएर काठमाडौं आएपछि उहाँलाई निर्देशक निर्माताको घर पत्ता लगाउन १५ दिन लाग्यो । दिनभर निर्देशक निर्माताको ठेगाना खोज्ने अनि राति बसपार्कको होटेलमा साहुसँग अनुरोध गरेर डाइनिङ हलमा सुत्नुहुन्थ्यो । मुस्किलले उहाँले भेटेका निर्देशक निर्माताले ‘अहिले तिमी सानै छौ हिरो हुने उमेर भएको छैन । ठूलो भएपछि आऊ, सक्यौ भने मौका दिउला’ भनेपछि दाङ फर्केर पढ्न लाग्नुभयो ।

उहाँ एस.एल.सी पास गरेपछि क्याम्पस पढ्न काठमाडौं आउनुभयो । उहाँको उद्देश्य पढ्नभन्दा पनि चलचित्रमा ‘हिरो’ बन्नु थियोे । केही समय निर्देशक निर्माताकामा धाएर सानोतिनो भूमिका निभाउन थालेपछि उहाँलाई लाग्न थाल्यो म आफैं चलचित्र निर्देशन गर्न पाए भने धेरै राम्रो चलचित्र बनाउन सक्थे होला ।

चलचित्रको पर्दामा आउने हिरोभन्दा पर्दा पछाडि बसेर चलचित्र बनाउने निर्देशक नै उहाँलाई हिरो लाग्यो । यही सोचेर उहाँ निर्देशक बन्न कथा लेखन तथा सहनिर्देशनको काम सिक्न थाल्नुभयो । सानैदेखि चलचित्रमा रुचि राख्ने निर्देशक ऋषिराज आचार्यले चलचित्र समाजको ऐना हो चलचित्र बनाउन समाज बुझेको हुनुपर्छ भनेर समाजशास्त्र अध्ययन गर्ने निर्णय गर्दै त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँले विस २०६२ देखि पाँच वर्षसम्म वरिष्ठ निर्देशक शम्भु प्रधानको सहायक भएर सहायक निर्देशनको काम गर्नुभयो । त्यसपछि मुम्मईबाट चलचित्र निर्देशनसम्बन्धी एक वर्षको अध्ययन गरेर नेपालमा आयर आफ्नो निर्देशनमा ‘आफन्त’, ‘यात्रा जिन्दगीको’ जस्ता सुपरहिट टेलिसिरीयल निर्देशन गर्नुभयो । जुन नेपाल टेलिभिजनबाट प्रसारण भएका थिए ।

त्यसपछि ‘सञ्जिवनी’, ‘विश्वास’ जस्ता सुपरहिट सिरियल नेपाल टेलिभिजन प्लसबाट प्रसारण भएका थिए । यसैगरी उहाँले नेपाल-१ टेलिभिजनबाट हाँस्य टेलिसिरियल ‘झट्का’ निर्देशन गर्नुभयो भने तराई टेलिभिजनबाट ‘ममता’ टेलिसिरियल निर्देशन गर्नुभयो । करिब १५ सय एपिसोड जति टेलिसिरिएल निर्देशन गरिसकेपछि उहाँले ठूलो पर्दाको चलचित्र ‘मिस्टेक’ निर्देशन गर्नुभयो । मिस्टेक पछि उहाँले चलचित्र ‘सपना तिम्रो मेरो’ निर्देशन गर्नुभयो जुन भूकम्प पछिको पहिलो सुपरहिट चलचित्र हो । सपना तिम्रो मेरो पछि उहाँले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ निर्देशन गर्नुभयोे ।

जुन चलचित्र जारी प्रथामा आधारित थियो । दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएको सो चलचित्र विभिन्न संघसंस्थाबाट पुरस्कृत भएको थियो । त्यसपछि उहाँले निर्देशन गरको चलचित्र ‘ड्रिम गर्ल’ नेपाल र थाइल्याण्डमा छायांकन गरियको थियो । दर्शकबाट अत्यन्तै मन पराइएको सो चलचित्र नेपालबाहेक विभिन्न देशमा प्रदर्शन भएको थियो । ड्रिम गर्लपछि धेरै लोकप्रिय हाँस्य कलाकारलाई लिएर हाँस्यप्रधान चलचित्र ‘चुरीफुरी’ निर्देशन गर्नु भए पनि जुन चलचित्रले सुस्ताएको नेपाली चलचित्र क्षेत्रलाई चलायमान गराउन धेरै सहयोग गर्‍यो ।

निर्देशक आचार्य लोकतान्त्रिक खेलकुद परिषद्, चलचित्र पत्रकार संघ जस्ता केही संस्थाबाट सम्मानित हुनुभएको छ भने केही चलचित्रबाट अवार्डसमेत पाउनुभएको छ । समाजसेवामा रुचि राख्ने निर्देशक आचार्यले कुनै चलचित्रको च्यारिटी शो बाट उठेको पैसा अनि कुनै चलचित्रबाट उठेको केही रकम विभिन्न अनाथ आश्रय तथा वद्धाश्रममा सहयोग गर्नुहुन्छ ।

प्रकाशित मिति: २०२३-०१-११ , समय : १९:१५:१३ , ११ महिना अगाडि