Salyan Paribesh , ६५७ पटक हेरिएको

माहुरी (मौरी) आफ्नो जीवनमा कहिल्यै सुत्दैन। यो जीव यति धेरै मेहनती हुन्छ कि एक थोपा मह खोज्न लगभग १० किलोमिटर टाढासम्म जान्छ।
मानव जीवनको एक मुख्य अंगजस्तै मानिने माहुरीका बारेमा केही रोचक तथ्य।
– पृथ्वीमा करिब २० हजारभन्दा बढी प्रजातिका माहुरीहरू पाइन्छन्। तर, ४ प्रजातिले मात्रै मह बनाउँछन्।
– एउटा घारमा लगभग २० देखि ६० हजार पोथी, १०० वटा भाले तथा एउटा रानी माहुरी हुन्छन्।
– यसको मह पहिले नै पचिसकेको हुनाले हामीले खाँदा करिब २० मिनेटमै रगतमा पुगिसक्छ।
– माहुरीले १ सेकेन्डमा करिब २ सय पटक पँखेटा हल्लाउँछ।
– यसले एकपटकमा ५० देखि १०० वटा फूलको रस संकलन गर्छ।
– फूल खोज्न माहुरी १० किलोमिटर टाढासम्म पनि जान्छ।
– माहुरीलाई एक किलो महका लागि करिब ४० लाख फूल चुस्नुपर्छ साथै झण्डै १ लाख ५० हजार किलोमिटरको यात्रा गर्नुपर्छ।
– माहुरीको उमेर ४५ दिनको हुन्छ। जीवनभरमा यसले एउटा चम्चाको १२औं भाग बराबर मह संकलन गर्छ।
– मह हजारौं वर्ष पनि बिग्रँदैन। यो एक मात्र यस्तो खानेकुरा हो जसमा जिवन जीउन चाहिने आवश्यक सबै तत्व पाइन्छ।
– रानी माहुरी ५ वर्षसम्म बाँच्छ। यो मात्रै अन्डा दिनसक्ने माहुरी हो। यसले एक दिनमै २ हजारभन्दा बढी अन्डा दिन सक्छ।
– करिब २८ ग्राम महले एउटा माहुरीलाई पूरै पृथ्वी परिक्रमा गर्न सक्ने शक्ति प्राप्त हुन्छ।
– गहुँ, मकै तथा धानको परागण हावाद्वारा हुन्छ भने बदाम, सुन्तला, काजु, कपास, स्याउ, कफी, बैगुन, अंगुर, किवी, आँप, भिन्डी, नास्पाती, खुर्सानी, स्ट्रबेरी, तरबुजा, काँक्रो, आरु आदिको परागण माहुरीले गर्छ।
– पृथ्वीबाट माहुरी हराए बने ७० प्रतिशत फलफूल, रुखबिरुवा, घाँसपात आदि सबै नष्ट हुन्छन्। महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए, ‘यदि पृथ्वीबाट माहुरी नष्ट भए भने त्यसको ४ वर्षभित्र सबै मानव प्रजाति नष्ट हुनेछ।’
– दामोदर शर्मा अधिकार
प्रकाशित मिति: २०२२-०२-०९ , समय : १९:०६:५१ , २ वर्ष अगाडि