सल्यान परिबेश डट्कम , ४८९८ पटक हेरिएको

सल्यानको शारदा नगरपालिका – १ श्रीनगरमा बन्न लागेको आधुनिक बसपार्ककोलागि उक्त एरियामा रहेको सरकारी पर्ती ऐलानी जग्गामा निर्मित संरचनाहरु हटाउन शुरु गरिएको छ ।
घर टहरा हटाउन दिइएको ३५ दिने अल्टिमेटम शनिबार सकिएपछि नगरपालिकाले आइतबार बिहान ७ बजेदेखि घर टहरा हटाउन शुरु गरेको हो ।
नगर प्रमुख भण्डारीले आधुनिक बसपार्क निर्माणको काम सल्यान कै गौरवको बिषय भएकाले तत्काल काममा लाग्ने बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मेयर भण्डारीले उक्त एरियामा आधुनिक बसपार्क मात्र नभई बच्चा बच्ची खेल्ने पार्क र एउटा हस्पिटलको समेत कन्सेप्ट रहेकाले ऎलानी जग्गा खोज्नु परेको बताउनु भयो ।
नगरको ११ औं नगर सभाबाट १ करोड बजेट बसपार्कको सरसफाइ र केहि संरचना निर्माणकोलागि भएको र त्यो बाहेक हामीसंग अहिले शुन्य बजेट छ यो भन्दा पहिला ६४ करोडको बजेट परेको र ३ पटकसम्म बजेट फ्रीज भएको स्मरण गराउदै करोडौंको बजेट यहाँ आवस्यक भएकाले केन्द्र र प्रदेश सरकारसंग डिपिआर लिएर जाने उहाँले बताउनु भयो ।
बसपार्क एरियाको ऎलानी जग्गामामा भएका घर टहरा मात्र हटाउने कि नगरपालिका भित्रका सबै ऎलानी घरटहरा पहिचान गर्ने? भन्ने पत्रकारको प्रश्नमा मेयर भण्डारीले अहिले सम्म हामीले सुचना दिएका घरटहराहरु ८३ थियो र त्यसबाहेक अरुपनि नगरपालिकाले खोज्दै गरेको र हामीसंग भएको ऎलानी जग्गा जहाँ राज्यलाइ आवस्यकता पर्छ त्यहा लिन सकिने बताउनु भयो ।
कुल ३५ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गामा रहेका ९० प्रतिशत नागरिकलाई विभिन्न तरिकाले सहयोग गरेको र घर नभएका बासिन्दालाई कोठा खोजेर ब्यबस्थापन गरेको नगरपालिकाले भनाइ छ ।
स्थानीयहरुले भने आफुहरु विकास विरोधी नभएको र कसैको घर भत्काउने र कसैलाई छोडेमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।
नगरपालिकाले भत्काएका संरचनाको (ढुङ्गा, इट्टा, झ्याल, ढोका टिन) ब्यबस्थापनको लागी ३ दिनको समय थप गरेको छ यधपी सो समयावधिमा ब्यबस्थापन नभए नियमानुसार नगरपालिका स्वयंले हटाउने समेत उल्लेख गरेको छ ।
प्रकाशित मिति: २०२३-०१-१६ , समय : १६:१४:०७ , ११ महिना अगाडि