सल्यान परिबेश डट्कम , ७९३ पटक हेरिएको

सुर्खेत, ८ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे २ बजे सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा प्र ०१०२६च ९२१३ नम्बरको जिप रत्न राजमार्गअन्तर्गत झुप्राखोला नजिक आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी दुर्घटनामा घाइते भएका दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाहीको प्रदेश अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०१-२२ , समय : १०:२१:४५ , ८ महिना अगाडि