Salyan Paribesh , ६९६ पटक हेरिएको

नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम भएको छ ।
शनिबार सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले लिएनन् ।
यस पटक स्पीनरलाई कुनै पनि टिमले चासो देखाएका छैनन् । अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर रहमान, दक्षिण अफ्रिकाका इमरान ताहिर, अष्ट्रेलियाका एडम जाम्पा र इंग्ल्याण्डका आदिल रासिदलाई पनि कुनै टोलीले बोली लगाएन ।
११ औं सेटमा रहेका सन्दीपले आफ्नो आधार मूल्य भारु ४० लाख राखेका थिए । तर कुनै टिमले पनि सन्दीपलाई लिएनन् । अब आइतबार कुनै फ्रेन्चाइजले शनिबार अनुबन्ध नभएका खेलाडीलाई विसलिस्टबाट अक्सनमा सामेल गराउन सक्नेछन् ।
आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी रहेका सन्दीप यसअघि सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध भई दुई सिजन खेले । तेस्रो सिजन भने उनले खेल्ने अवसर पाएनन् ।
दिल्लीबाट गत सिजनअघि रिलिज भएका उनलाई मिनी अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेको थिएन ।
प्रकाशित मिति: २०२२-०२-१२ , समय : १७:५५:५० , १ वर्ष अगाडि