कस्तो छ त ‘ह्यारी कि प्यारी’ ?

सल्यान परिबेश डट्कम , १०९१  पटक हेरिएको

एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्म निर्माण गरेका डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशनमा डेब्यू गरेको फिल्म हो, ‘ह्यारी कि प्यारी’ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रीय भूमिकामा छन् । परिवार नै चिकित्सा पेशामा आबद्ध भएकाले डा. रिजालले आफ्नो डेब्यू फिल्ममा डाक्टर र अस्पताललाई कुनै न कुनै रुपमा जोडेका छन् ।

जेनी (साम्राज्ञी) आमा-बुबाले खडा गरेको अस्पतालको प्रमुख छिन् । उनी डाक्टर पनि हुन् । आमा-बुबाको निधनपछि उनी हजुरआमा (सरला रिजाल) को सहारामा हुर्किइन् । उमेर बढेसँगै हजुरआमाले विवाहका लागि दबाव दिन थाल्छिन् । तर, जेनी हजुरआमालाई छाडेर विवाह गर्न तयार छैनन् ।

यस्तै दबावमा छन्, हरि उर्फ ह्यारी (जितु) । उसलाई गाउँमा स्वास्थ्य चौकी बनाउनु छ । तर, खर्च जुटेको छैन । चिया पसलदेखि चौतारासम्म दानपेटिका राखेको छ, तर कसैले सहयोग गरेका छैनन् । स्वास्थ्य चौकी बनाउने सपना पूरा गर्न ऊ पुर्ख्यौली जग्गा बेच्न समेत तयार हुन्छ । तर, हजुरआमा (लक्ष्मी गिरी) ले विवाह गरेपछि मात्र हरिले जग्गा बेच्न पाउने गरी कागज बनाउँछिन् ।

उता हजुरआमाबाट विवाहको दबाव खेपिरहेकी जेनी र गाउँमा स्वास्थ्य चौकी बनाउन जुनसुकै मुल्य चुकाउन तयार हरि कसरी एकअर्कासँग ठाकिन्छन् र के-कस्ता उतारचढाव आउँछन् भन्नेमा फिल्मले २ घन्टा १५ मिनेट फन्को मारेको छ । तर, मध्यान्तरअघि फिल्मको गति अत्यन्त धिमी छ । चरित्र स्थापित गर्न लम्बेतान दृश्य राखिएका छन्, जसमा दर्शक हँसाउने ध्येय पनि छ तर सफल छैन ।

HARRY KI प्यारी

राम्ररी प्लटको विकास नहुँदा मध्यान्तर अघिसम्मको अवधि फिल्म कम सिरियल बढी लाग्छ । पटकथा कमजोर हुँदा यस्तो समस्या आउने गर्छ । मध्यान्तरपछिको करिब १५-२० मिनेटको अवधि भने तुलनात्मक रुपमा राम्रो छ । जेनी हरिको घरमा भित्रन आउँदा र काठमाडौं नफर्कदासम्मको दृश्य इमोसनल छन् । तर, पटकथा लेखनमा मिहिनेत नपुगेको यहाँ पनि महसूस हुन्छ । पर्दामा पात्र भावुक हुँदा दर्शकको मन हुडल्दैन भने त्यो दृश्यको सान्दर्भिकता रहँदैन । फिल्मभित्र यस्ता केही इमोसनल दृश्य छन्, जहाँ पात्र त भावुक हुन्छन् तर हेर्नेको मन छुँदैन ।

फिल्मको क्लाइमेक्स नाटकीय छ । क्लाइमेक्स परिवर्तन गर्न सकेको भए मध्यान्तरपछिको पार्टलाई मध्यमसम्म मान्न सकिन्थ्यो । तर, क्लाइमेक्समा भएको कमजोरीले फिल्मलाई नै कमजोर बनाएको छ । सुदीप बरालको छायांकन औसत छ । सम्पादन हतारमा गरेको भान हुन्छ । ब्याकग्राउन्ड म्यूजिक कर्कशपूर्ण छ । कथाको भावअनुरुप ब्याकग्राउन्ड म्यूजिक बग्न सकेको छैन ।



फिल्ममा तीनवटा गीत छन्, जसमा ‘दम दम’ र ‘धरहरा हल्लियो’ गीत अनावश्यक रुपमा प्रयोग गरिएको देखिन्छ । न कथासँग कुनै तालमेल छ न कथावाचनमा भूमिका खेलेको छ । अर्को गीत ‘मीठो मीठो’ भने सान्दर्भिक छ । यो गीतले कथालाई अगाडि बढाउन ठूलो मद्दत गरेको छ ।

कमेडी भूमिकामा जमेका जितुले यो फिल्ममा गम्भीर भूमिकामा अभिनय गरेका छन् । यो उनले करिअरमाथि नै लिएको ठूलो ‘रिक्स’ हो । तर, गम्भीर भूमिकामा उनी जम्न सकेको देखिन्न । उनी भावुक हुँदाको दृश्य तरकारीमा नुन नपुगेको जस्तो लाग्छ । उनको अभिनयलाई मध्यम मान्न सकिन्छ । हुन त पटकथा नै कमजोर भएपछि त्यसको असर कलाकारको अभिनयमा पर्ने भैहाल्यो ।

हरि गाउँमा कसैलाई समस्या पर्‍यो भने सबैभन्दा अगाडि सर्छ । आफैं खर्चको जोह गर्छ र गाउँलेको उपचार गर्छ । उपचारको अभावमा कोही सुत्केरी महिलाको मृत्यु नहोस् भनेर उसले गाउँमा स्वास्थ्य चौकी बनाउनका लागि पैसा जुटाइरहेको छ । तर, आँगनमा एम्बुलेन्स पुग्ने गाउँमा स्वास्थ्य चौकी समेत नभएको भनेर जसरी देखाइएको छ, त्यो कहिँ कतैबाट पनि स्वभाविक लाग्दैन ।

त्यस्तै, साम्राज्ञीले निर्वाह गरेको चरित्रमा नयाँपन छैन । न त अभिनयमा नै निखारता छ । यद्यपि, जुन चरित्र उनले पाएकी छन्, त्यो सुहाउँदो छ । जितु र साम्राज्ञीको केमेस्ट्री भने चाखलाग्दो छ । हरिको काकाको भूमिका निर्वाह गरेका जिते (विजय बराल) मा ‘कबड्डी’का विकेको झल्को आउँछ । फरक यति छ कि ‘कबड्डी’मा उनी दयाहाङ राईको दाहिने हात थिए भने ‘ह्यारी कि प्यारी’मा जितुको । उनलाई हँसाउनकै खातिर राखिएको छ । केही दृश्यमा उनको हाउभाउ र संवादले हँसाउँछ पनि । तर, कथालाई अगाडि बढाउन उनको भूमिका छैन ।

फिल्ममा साम्राज्ञीकी हजुरआमाको भूमिकामा रहेकी सरला रिजालको अभिनय स्वभाविक लाग्दैन । गौरी मल्लले डबिङ गरेका कारण डाइलग डेलिभरीमा समस्या नभए पनि अभिनयसँग त्यसको तालमेल छैन । संवादले एउटा भाव बोल्दा सरलाको अभिनय अर्को गतिमा बगेको छ । कलाकार लक्ष्मी गिरीको अभिनय भने राम्रो छ ।


कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस


डा. रिजालको डेब्यू निर्देशन भएकाले फिल्ममा भएका कमी-कमजोरीमा उनलाई छुट दिन सकिन्छ । तर, आगामी दिनमा उनीबाट योभन्दा स्तरीय फिल्मको अपेक्षा रहनेछ । नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने लाग्छ भने एकपटक ‘ह्यारी कि प्यारी’ हेर्दा ठीकै होला । नयाँपन खोज्ने हो भने फिल्मले निराश बनाउन सक्छ ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : २३:३६:०७ , ८ महिना अगाडि