कथा : अपुरो प्रेम लेखमणि खड्का

Salyan Paribesh , ६८६  पटक हेरिएको

कथा : अपुरो प्रेम

…धेरै बर्ष पछि ह्वाट्सपमा उसको मेसेज आयो : “कस्तो छौ अचेल ?”
ब्ल्याक एण्ड ह्वाइट कभर पिक्चरमा हल्का कपालले छपक्कै अनुहार छोपेको फोटो, अनि निधारमाथी कपालको डिलमा अड्याएको कालो चश्मा, सुरुमा ठम्याउन गाह्रो भो मलाई । गाला माथिको डिम्पल र मङ्गोल बर्णले धेरै बेर लागेन उसलाई चिन्न । उसलाई प्रत्येक्ष नदेखेको पनि २५ बर्ष बितिसकेछ । यो २५ बर्षमा उसको जिउडाल ,रुपरङ्ग पुरै बदलिएको रहेछ । उसको कभर फोटो देखेर टोलाईरहे एकछिन त , अनि मेरो अल्मारीको खोपिमा रहेको २५ बर्ष अघिको फोटोको एल्बम निकालेर उसका फोटोहरु एक एक नियाले । गुराँसको रुखमा चढेर रातो गुराँसकै फूलसग खिचाएका केही फोटाहरु , त खेतको गहुँ बारीमा , घर अगाडिको तोरीबारीमा खिचाएका धेरै फोटाहरु सबै सबै नियाले । अझ भनौं , हामीले सगै स्कुल पढदा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रममा स्वागत भाषण सगै ग्रुप डान्सको लागि निलो साडी र रातो ब्लाउजमा सजिएर मन्चमा बोल्दा बोल्दै र स्टेजमा नाच्दा नाच्दै खिचेको त्यो फोटो पनि खुबै हेरे । अनि हेरे आजको उसको फोटो पनि ।
[smartslider3 slider=”2″]
खासमा मैले ह्वाट्सप त्यति चलाउदिन । फेसबुक नै प्रयोग गर्ने गर्छु र कहिलेकाही अपबादमा इन्स्टाग्राम । त्यो ह्वाट्सप चाहिँ गत बर्ष अफिसियल प्रयोजनको लागि एउटा फमसग डकुमेन्ट आदानप्रदानको लागि मात्रै खोलेको थिएँ । त्यसपछि त्यो एकाउन्ट करिबकरिब बन्द नै थियो । आज शनिबार बिदाको दिन, अन्लाईनमा बसेर फेसबुकका पुराना पोस्ट तथा एल्बमहरु हेरिरहेको बेला ह्वाट्सपमा त्यो मेसेज आयो । आखिर कसरी एड भयो ऊ सग ह्वाटसपमा ? म दङ्ग परे । बरु मैले ४ बर्ष अघि उसको फेसबुक टाइमलाइन सर्च गरेर उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ , चार बर्ष बितिसक्दा पनि रिक्वेस्ट पेन्डिङमा देखाउछ । त्यो बाहेक अन्य कतै पनि ऊ सग एड भएको सम्झना छैन मलाई ।
मनमा एकाएक धेरै कुरा खेलिरहे । धेरै सवालहरु उठिरहे । अढाई दशकपछी पहिलोपटक उसको म्यासेज देखेर हर्ष बिभोर पनि भए । ह्वाटसपमा उसको त्यो छोटो म्यासेजले २५ बर्ष अघि हामीले लेख्ने गरेका प्रेमपत्रहरुको झल्झली याद दिलायो । कन्तुरमा सजाएर राखेका करिब आधा दर्जन दोहोरा चिट्ठीहरु अझैपनि उस्तै रहेछन । उसको म्यासेजपछी कन्तुर खोलेर पुनः ती चिट्ठीहरु पढे । एकाएक बितिसकेको टिनएजलाई ब्युताईदियो । उसका पुराना चिट्ठीहरु र फोटो एल्बममा रहेका स्कुले जिवनका फोटोहरुले पुनः त्यही जिवनमा फर्काईदियो ।
ह्वारसपको म्यासेज पाएको पनि करिव २ घण्टा बितिसकेछ । यो २ घण्टा समय मलाई उसका पुराना चिट्ठी पढ्न र फोटो हेर्नमै लाग्यो । दुई घण्टा सम्म म्यासेज seen भएर पनि रिप्लाई नदिदा उसले के सोच्दै होलि? सायद मलाई भाऊ खोजेको त सम्झिन कतै? उसलाई वास्ता नै रहेनछ भन्ने त सोचिन कतै ? छुट्टिनु अगाडिको भेटमा हातमा हात समाएर कसम खाएका आस्थाका ती चार प्वाइन्टहरु भुलिसकेछ भन्ने त सोचिन कतै? २५ बर्ष सम्म सम्पर्क बिहिन भएकी ऊ भन्दा, यो दुई घण्टासम्मको मौनताले ज्यादै खुल्दुली दियो । आखिर कसरी उत्तर दिउँ त उसलाई ? म सग शब्दहरु थिएनन फर्काउन लाई । यदि भोगाईहरु पठाउ भने ठूलो महाकाब्य नै बन्थ्यो, जुन त्यो ह्वाटसपमा पठाउन सम्भव पनि थिएन । तर पनि उसको प्रश्नलाई रेस्पोन्स गर्नै पर्थ्यो ।
औलाहरु कमाउदै मैले लेख्न थाले ह्वाटसपको इनबक्समा । “कस्तो छु भनेर बताऊ समीक्षा तिमीलाई ? शब्द र भाव बिहिन छु । तिम्रो रोजाई फरक भएपछि मेराभोगाईहरु भने तिम्रा जस्ता भएनन । तिमी नदि तरेर टाढा गएपछि , नदिकै वाल्लोतटमा तिमिले कुल्चेर छोडेका माटोको धुलोमा तिम्रो पैतलाको छाप हेरेरै बित्यो यो २५ बर्ष । तिम्रो त्यो पदचापमा तिमीले छोडेर गएको मेरो आस्थाको प्रतिविम्ब थियो , जसले गर्दा तिम्रो मायालाई भुल्न कहिल्यै दिएन । तिमीले त माया गरिनौ तर तिम्रा यादहरुले भने औधी माया गर्छन मलाई । त्यसैले त यादहरुको सहारा लिएर बाचिरहेको छु । तिमी त आस्थाको पोको छोडेर गयौ ,तर तिम्रा यादहरुले कहिल्यै छोडेनन , तिम्रा यादहरुले कहिल्यै एक्लो पारेनन मलाई । त्यसैले त ती प्रेमिल यादहरुको बैशाखी टेकेर हिडिरहेको छु । तिमी टाढा छ्यौ, तिम्रो छाति पनि म प्रतिको घृणाले भरिएको छ तर पनि हरपल तिम्रा यादहरु मेरो छातिकै क्यानभासमा टासिएर रहेका छन,त्यसैले त आखै अगाडि तिमी नाचीरहन्छ्यौ,जतिबेला तिमी टाढा छ्यौ भन्ने अनुभुती नै हुँदैन । मलाई यति बिध्न माया गर्ने, मलाई कहिल्यै एक्लो नछोड्ने, सधै सधै धड्कनमा धड्किरहने यादहरु छोडेर गएकोमा आभारी छु तिमी प्रती । अनि धेरै धेरै माया पनि तिमीलाई । किनभने तिमी जादा , मलाई यति बिध्न ख्याल गर्ने , मलाई कहिल्यै एक्लो नछोड्ने अजम्बरी याद त सुम्पेर गएकी छौ नि !”
…… ……. ….. क्रमशः

प्रकाशित मिति: २०२२-०१-१४ , समय : १४:०६:५३ , २ वर्ष अगाडि