स्वस्थ शरीरका दुई सूत्र : सन्तुलित भोजन र तनावबाट मुक्ति

ओम भण्डारी , २४००  पटक हेरिएको

काठमाडौं : जीवनको महत्वपूर्ण सम्पत्ति स्वास्थ्य हो। शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै स्वस्थ र बलियो चाहिन्छ। शारारिक व्‍ययाम, सन्तुलित खानपान, स्वस्थ वायु र तनावमुक्त भएपछि भौतिक र मानसिक दुवै रूपले स्वस्थ भएको मानिन्छ।

शारीरिक स्वास्थ्य जति नै राम्रो भए पनि मानसिक स्वास्थ्य खराब भएको मानिस स्वस्थ हुँदैन। स्वस्थ मन् र शरीर नै खुसी र सुखी हो।

शहरी जीवनशैली अस्वस्थ छ

अस्पताल बिरामी मात्रै जाने ठाउँ होइन,  सद्दे हुँदैमा पनि अस्पताल जानु पर्दछ। बेला–बेलामा शारीरिक र मानशिक स्वास्थ्य जाँच गरायो भने रोग लागेको भए समयमा उपचार पाइन्छ, रोग नलागेको भए आफ्नो स्वास्थ्यको हेरचाह हुन्छ। कम्तीमा वर्षको एकपटक स्वास्थ्य जाँच गराउनु अनिवार्य छ।

सुख खोज्दा अस्वस्थ बनिरहेका छौँ। अस्पताल पुग्नेहरू मध्ये धैरैजसो एन्जाइटिस, मिर्गौला, कलेजो, दम, पिसाबसम्बन्धी रोग, ग्याष्ट्रिक, मधुमेहलगायत रोगका बिरामी धेरै भेटिन्छन्।

यस्ता रोगहरू अस्वस्थ जीवनशैलीका कारण लाग्दछन्। शहरीकरण बढेसँगै हाम्रो जीवनशैली पनि अस्वस्थ बनिरहेको छ। मिठो खाने रहरले हाम्रो भान्सा अस्वस्थकर बनेको छ।

जिब्रोको स्वादका निम्ति चिल्लो, पिरो, धेरै अमिलो, ज्यादै गुलियो, धेरै नुनिलो, मसलेदार खानेकुरासँगै मदिरा, चुरोट खैनीले रोग लाग्ने मात्रा बढेको हो। गाउँमा बस्नेलाईभन्दा शहरका मानिसहरूलाई रोग धेरै लागेको भेटिएको छ।

बस्ने कामलाई आराम सम्झियौँ आवश्कताभन्दा धेरै बस्नाले शरीर रोगी हुन्छ। औसतमा शहरमा शरीरले चाहिनेभन्दा बढी आराम पाउँछ। बढ्दो प्रदूषण, बाक्लो अनि अव्‍यवस्थित बस्तीले शहरमा स्वस्थ वायुको समेत अभाव छ।

परिवारको डाक्टर भान्से, आफ्नो डाक्टर आफैं

स्वास्थ्य क्रियाकलापको रुटिन बनाई त्यसलाई कडाइपूर्वक पालना गर्नुपर्दछ। राति चाँडै सुत्ने, बिहान सबेरै उठेर स्वस्थ हावा लिनाले निरोगी र सकारात्मक जीवनको सुरु हुन्छ।

बिरामी भएका मानिसले मात्र होइन सद्दे मान्छेले पनि समयमा स्वस्थ खानेकुरा खानुपर्दछ। हरियो सागसब्जी, फलफूल, कम चिल्लो, कम मसला, कम गुलियो भएको भान्सा स्वस्थकर मानिन्छ।

खानेकुरा पकाउने मानिस परिवारकै डाक्टर हो, खानेकुरा पकाउने मानिसलाई स्वस्थ भोजनको बारेमा राम्रो ज्ञान हुनुपर्दछ।

स्वस्थ शरिर र मन दुवैलाई स्वस्थ–सफा खानेककुराकै भुमिका हुन्छ। स्वादका लागि नभई  शरीरलाई फाइदा गर्ने खानेकुरा खानुपर्दछ।

दैनिक एकघण्टा हिँड्नुपर्छ

शरीरमा पसिना आउने गरी घटीमा पनि दिनको एकघण्टा हिँड्न आवश्‍यक छ। हिँडाइसँगै शारीरिक व्‍यायाम पनि चाहिन्छ।

उमेर, पेसा र भौगोलिक संरचनाअनुसार पैदल यात्रा र व्‍यायामको मात्रा फरक हुन्छ। शहरमा र तराईमा बस्ने मानिसलाई पहाड पर्वतमा बस्ने मानिसको तुलनामा  शारीरिक व्‍यायाम बढी चाहिन्छ।

गाउँघर र पहाड पर्वतमा बसेर काम गर्ने मानिसहरूलाई आफ्ना नियमित काम धन्दाले नै आवश्‍यक तन्दरुस्ती प्राप्त भइरहेको हुन्छ। त्यसैले शारीरिक रूपले सक्रिय भइरहने मानिसलाई खासै त्यस्तो व्‍यायामको आवश्‍यकता नपरेको हो। तर, तराई मधेशमा र शहरबजारमा बस्ने मानिसलाई त्यस किसिमको तन्दुरुस्ती दैनिक कामकाजबाट नमिल्ने हुनाले अरूभन्दा धेरै नै शारीरिक व्‍यायामको आवश्‍यकता हुन्छ।

दीर्घरोग भएका, अशक्त र वृद्धवृद्धालाई भने शारारिक अवस्था हेरी  व्‍यायामको मात्रा कम गर्नुपर्छ। व्‍यायाम गर्दा, योग ध्यान, प्राणयामका चरणहरू गर्दा सम्बन्धित चिकित्सक अथवा विज्ञको सल्लाह आवश्‍यक हुन्छ ।

हिँड्दा फाइदा हुन्छ भन्ने थाहा छ तर कति हिँड्ने र कस्तो हिँडाइ  उपयुक्त हो भन्ने थाहा नहुन सक्छ। पसिना आएर स्वाँस्वाँ फ्वाँफ्वाँ नभएको हिँडाइ स्वास्थ्य लाभको हिसाबले उति फाइदाकारी मानिँदैन। हिँडाइले फोक्सोको चाल बढ्नुपर्यो, मांपेशीहरूको सक्रियता बढ्नुपर्‍यो,  मुटुको सक्रियतालाई पनि बढाउनुपर्‍यो।

हिँड्दा ढाडलाई, नसालाई, कम्बरलाई, शरीरभित्रका अंगसँगै छाला र मासुमा भएको बिकार हटाउन पनि मद्धत गर्छ। शहर बजार र समतल ठाउँमा बस्ने मानिसहरूलाई भन्दा पहाड पर्वतमा बस्नेलाई माटोपना, सुगर, प्रेसर, मुटुका रोग, मिर्गौलाका रोग कम भएको भेटिएको छ। स्वास्थ्यको हिसाबले गाउँ र पहाडपर्वतको जीवनशैली उपयुक्त छ।

उचाइ र उमेर अनुसारको तौल

तौल उमेर र उचाइअनुसार सन्तुलनमा राख्नु पर्दछ। मानौं ५ फिट ६ इन्चको पुरुष छ भने तौल ५५ देखि ६५ किलोग्राम र ५ फिट ४ इन्चको महिला छ भने ४५ देखि ५५ किलाग्रामभन्दा बढी तौल हुनुहुँदैन।

बयस्क मानिसभन्दा वृद्धवृद्धा र बालबालिकाको तौल धेरै बढ्नु स्वास्थ्यको हिसाबले घातक मानिन्छ। स्वस्थकर तौल र स्वस्थ जीवनको लागि सातामा एकदिन पेटलाई भोको राख्नु राम्रो पर्छ। व्रत बस्ने चलन सकारात्मक हो।

वृद्ध र बालकलाई स्वास्थ्य जोखिम धेरै

बालकालिका र वृद्ध–वृद्धाहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले वयस्क उमेर समूहको तुलनामा स्वास्थ्य जोखिम धेरै हुन्छ।

स्वास्थ्य जोखिम बढी भएको उमेर समूहलाई थप ध्यान दिनु आवश्‍यक छ।

मौसम परिवर्तनको बेला जोखिम बढ्छ

हाम्रो वायु प्रणालीमा परिवर्तन हुँदा विभिन्न किसिमका भाइरसहरूले आफ्नो रूप उत्परिर्वतन गर्दछन्।

रूप बदलेर देखापर्ने भाइरसले स्वास्थ्यमा प्रतिकूल असर गर्छन्। मौसमी भाइरसले लगाउने रोगलाई चलनचल्तीका औषधिले खासै काम नगर्ने हुनाले सामान्य खालका मौसमी समस्या पनि माहामारीको रूपमा फैलिन सक्छ। विश्वभरि फैलिएको कोरोना माहामारी र हामीकहाँ केही महिनाअघि फैलिएको डेंगु माहामारी तीनै उदाहरण हुन्।

भाइरस फैलिएर रोग सर्छ

एजेण्ट भनेको किटाणु, होस्ट भनेको हामी र इन्भाइरोमेण्ट अथवा वातावरण मिलेपछि सजिलैसँग रोग सर्छ। झाडापखाला, डेंगु, कोरोना जस्ता संक्रामक रोगहरू यिनै तीनको संयोजनले फैलिएको हो।

मौसमी रुघाखाकी सामान्य हो

मौसमी रुघाखोकी मौसम परिवर्तनसँगै सबैभन्दा धेरै देखिने सामान्य समस्या हो। यो ३ देखि ५ दिनमा आफैँ ठिक हुन्छ। यदि ५ दिन सम्ममा पनि रुघाखोकी ठिक हुँदै गएन भने तुरुन्तै अस्पतालमा जानुपर्दछ। सामान्य भनेर पर्खिरहँदा जटिल रोग पनि लागेको हुनसक्छ।

मौसमी रुघाखोकी र अन्य रोगको लक्षण उस्तै

बारम्बार हच्छिउँ आउनु, खोकी लाग्नु, घाँटी दुख्‍नु, थुक निल्न गाह्रो हुनु, शरीरका जोर्नी दुख्नु, अल्छी लाग्नु, जिउ दुख्नु, खाना अरुचि हुनु मौसमी रुघाखोकीका लक्षण हुन्।

यी लक्षणसँग अन्य धेरैवटा रोगको लक्षण पनि मिल्ने हुनाले सामान्यतया ३ देखि ५ दिनमा बिसेक भएन भने विषेशज्ञसँग स्वास्थ्य जाँच गराउनुपर्दछ।

रुघाखोकी लागेमा सफा र मनतातो पानी प्रशस्त पिउने गर्नुपर्छ। घरायसी चलनचल्तीमा रहेका अदुवा, बेसार, निम, तुलसी जस्ता परम्परागत जडीबुटी मात्रा मिलाएर खानु राम्रै भए पनि औषधि पसलमा गएर आफूखुसी औषधि किनेर चाहिँ खानु हुँदैन। स्वास्थ्यकर्मीको परामर्शबिना खाएको औषधिले कहिलेकाहिँ घातक असर पनि गर्नसक्छ।

ग्याष्ट्रिकको उपचार आफैँले गर्ने

ग्याष्ट्रिक पेट र आन्द्राको समस्या हो। हाम्रो पेटमा खाना पचाउनको निम्ति हाइड्रोक्लोराइड एसिड बन्छ। खाना खाए पनि नखाए पनि एसिड  निरन्तर बनिरहन्छ। खानालाई पचाउन काम गर्ने एसिडले यदि खाना पाएन भने पेट र आन्द्राको भित्ताहरूमा खियाउन थाल्दछ,  त्यही नै ग्याष्ट्रिक हो। त्यसैले पेट खाली राख्‍नु हुँदैन।

नुन, पिरो, अमिलो, चिल्लो, मसला र गुलियो कम भएको खानेकुरा खाने मानिसलाई ग्याष्ट्रिक हुँदैन। ग्याष्ट्रिक भइसकेकालाई पनि त्यस्तो स्वस्थकर र सादा खानेकुराले ग्याष्ट्रिकको पीडा हुनबाट रोक्छ। गोला, गानो,  ग्याष्ट्रिक आदि विभिन्न नामले चिनिएको यो रोगको भरपर्दो उपचार छ। तर, स्वास्थ्य सतर्कता नै प्रभावकारी मानिन्छ। स्वस्थ वातावरण, सन्तुलित भोजन, तनावरहित निद्रा र तनावरहित घरपरिवार भयो भने ग्याष्ट्रिकबाट बच्न सकिन्छ।

ग्याष्ट्रीक वृद्धवृद्धालाई मात्र हुन्छ भन्ने भ्रम छ, तर यो सबैलाई हुने समस्या हो। अचेल त स–साना बालबच्चालाई पनि ग्याष्ट्रिक भएको छ।

किशोरावस्था र युवा उमेरकालाई ग्याष्ट्रिकले सबैभन्दा धेरै सताएको छ। स्वस्थ आहारविहार र स्वस्थ जीवनशैलीसँगै तनावरहित दिनचर्या ग्याष्ट्रिकको औषधि हो।

तनावले भएको ग्याष्ट्रिक त औषधिले पनि निको हुँदैन, त्यसैले तनाव मुक्त रहौँ। भौतिक र मानसिक दुवै हिसाबले सन्तुलित जीवनशैली अपनाइ रोग मुक्त जीवन बाँचौँ।

(नेपाल–भारत मैत्री अस्पताल र वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा.विभान्त साहसँगको कुराकानीमा आधारित) थाहा खबर डटकम बाट

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १५:५७:४० , २ महिना अगाडि