सल्यान परिबेश डट्कम , १४५६ पटक हेरिएको

भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन् । भोलि चैत २५ गते शनिवार बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी शुक्रवार काठमाडौं आइपुगेका हुन् ।
युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिएका छन् ।
‘धेरै समयदेखि नेपालमा कार्यक्रम गर्ने योजना रहे पनि यसपटक सफल भएको छ’, विमानस्थलमा आयोजकसँग कुरा गर्दै गायक सिंहले भनेका छन् – ‘भोलि हुने कार्यक्रमका लागि एकदमै उत्साहित भइरहेको छु ।’
नेपाल भारतको छिमेकी मुलुक भएकाले आफूलाई धेरै मनपर्ने सिंहले बताए । ‘सांगीतिक कार्यक्रमले एकआपसमा जोड्न सहयोग पुर्याउने र संगीतले सबैलाई जोड्न सक्ने सन्देश प्रवाह गर्न आएको हुँ,’ उनले सुनाए ।
युनिफाइले ह्यात रिजेन्सीमा हुने कार्यक्रमको सम्पूर्ण रुपमा तयारी भइसकेको जानकारी दिएको छ । कार्यक्रमको टिकट मूल्य १५ सय, २५ र ६ हजार रुपैयाँ राखिएको छ । ६ हजारको टिकटमा कम्प्लिमेन्ट्री स्वरूप गिफ्ट उपलब्ध हुनेछ ।
ह्यातमा हुने सिंहको कार्यक्रमको अन्तिम तयारी सकिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए । ‘साधारण टिकटको १ हजार ५ सयमाथि र भीआइपी टिकटको ६ हजार रुपैयाँसम्म रहेको छ’ उनका अनुसार कार्यक्रमका अधिकांश टिकट बिक्री भइसकेका छन् । केही टिकट कार्यक्रमस्थलबाट पनि खरिद गर्न सकिने छ ।
आयोजक श्रेष्ठका अनुसार कार्यक्रममा नेपाली कलाकारको समेत प्रस्तुति रहने छ । कार्यक्रममा डोङ द ग्रेट, यबेश थापा र विवेक लामाको प्रस्तुति रहने छ ।
श्रेष्ठले कार्यक्रममा पूर्ण रुपमा सुरक्षाको व्यवस्था गरिएको बताए । दर्शक तथा कलाकारको सुरक्षामा आयोजक गम्भीर रहेको उनले प्रस्ट पारे ।
सिंहका चर्चित गीतमा ब्लु आइज, धिरे धिरे तथा चार बोतल भोड्का आदि छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए ।
यो पनि पढ्नुस – बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ
यसअघि युनिफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भारतमा भएको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए । सिंह भारतमा संगीत कम्पोजर, र्यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् ।
उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन् । सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन् । सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन् ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : ००:२९:३८ , २ महिना अगाडि