हाम्रो सल्यान जिल्लाको इतिहास एक पटक पढने कि ?

Salyan Paribesh , १५९१  पटक हेरिएको

नेपालको राजनीतिक भूगोलमा सल्यान भौगोलिक हिसावले कर्णाली प्रदेश को दोस्रो सानो जिल्ला हो तापनि नेपालको इतिहासमा सल्यानी घटनाक्रम हरुले महत्वपूर्ण प्रभाव पारेको मानिन्छ। सल्यान जिल्लालाई एकातिर महाभारत तथा कोरवाङ्ग लेकमाला हरुले शोभायमान पारेका छन् भने अर्का तर्फ शारदा र अन्य खोलानालाहरुद्वारा सिञ्चित उर्वर फाँटहरुले यसको समृद्ध गौरव गाथा लाई जोगाई राखेका छन्
केही दशक अघिसम्म यहाँको ठेटुवा कपडा र अदुवाले अनि पछिल्लो दशकमा खुकुरी, जडिवुटी र कपुरकोटे तरकारीले सल्यानलाई सवैतिर परीचित गराएका छन् । सल्यान विविध जातजाति, लोकसंस्कृति, मेला पर्व र मठ मन्दिर हरुको अनुपम् संगम स्थलका रुपमा मात्र होइन प्राकृतिक मनोरमता र भविष्यको उज्वल पर्यटकीय गन्तव्यका रुपमा समेत अनेकौ संभावनाहरु भएको जिल्ला हो ।
सल्यानको नामाकरण सम्बन्धमा कुनै प्रमाणिक प्रसङ्ग अद्यापि भेटिएको छैन तापनि सल्यानकोटको नाम बाट सल्यान हुन
गएको अनुमान ‘मेची महाकाली’ पुस्तकमा गरिएको छ । मान्मा खाँडचक्रका राजा मलय वमका साहिंला छोरा सुमेरु वम
(सुर्तान) ले अंश स्वरुप प्राप्त गरेको वनगाड क्षेत्रको परिवर्तित नाम साम्कोटबाट कालान्तरमा सल्याना हुँदै सल्यान भएको
भन्ने भनाइ सर्व प्रचलित छ । त्यस्तै परा पूर्व कालदेखि शङ्खमूल (छायाँक्षेत्र), सालिवाङ्ग र चतुर्माला सिद्धकुवा हुँदै बगेकी पवित्र शारदा नदीबाट सिञ्चित भूमि भएकोले यिनै ठाउँहरु मध्येको सालिवाङ्गबाट अप भ्रंश भई सल्यान नामाङ्कित भएको पनि हुनसक्छ ।
झट्ट हेर्दा सल्लाका कोणधारी वनले भरिएको अधिकांश भू–भागको भौगोलिक स्वरुप सँग पनि सल्यान नामाकरणको प्रसङ्ग जोड्न सकिन्छ । फलावाङ्गको पुरानो दरवार क्षेत्रको वटु भैरव स्थान प्राङ्गणमा रहेको प्राचीन तोप (हाल टुक्रा–टुक्रा अवशेषका रुपमा रहेको मा लिपिवद्ध अक्षरहरु र शब्दहरुमा ‘स ल या न म’ उल्लेख भएको पाइएकोले संभवतः विक्रमाब्दिको सुरुवाततिर यस क्षेत्रलाई ‘स ल या न म’ भन्ने गरिएको र ती अक्षरहरुको संयोजन र अपभ्रंशबाट ‘सल्यान’ हुन पुगेको देखिएबाट सल्यान नामको प्राचीनतामा शंका उठाउनु पर्ने देखिएन ।
कहिले एकीकृत रुपमा त कहिले विभाजित अवस्थामै किन नहोस् सल्यान राज्यको अस्तित्व नेपालको इतिहासमा एक
अविष्मरणीय अध्यायका रुपमा रहेको छ । विभाजित अवस्थामा सल्यानका अतिरिक्त फलावाङ्ग, साङ्गकोट, झिम्पे,
कोर्वाङ्ग, छाप, गजुल, राम्रि काँडा, दार्माकोट, गुर्भाकोट, छिल्ली आदि स–साना थुम हरुमा अलगअलग राज्य कायम भएको देखिन्छ भने एकीकृत र सुदृढ सल्यानको सिमाना पूर्वमा माडीखोला, दाङ्गको गुहारखोला, उत्तर भेरीनदी,
तल पिपलीसारे छिञ्चु, हर्या लेक, जलजला, थलथला, वर्दियाको वनकुर्शी, बवैदेखि पूर्व नेपालगञ्ज र दक्षिणमा देउखुरी सम्म फैलिएको देखिन्छ ।
वैदिक काल र पौराणिक काल देखि नै संस्कृत ग्रन्थ र महा सङ्कल्प हरुमा पवित्र शारदाको वर्णन भेटिन्छ ।
खस राज्यहरुको स्थापना हुनु भन्दा धेरै अघि युधिष्ठिर सम्वत् २५४४ तिर पञ्जावको लुधियानाबाट जैन धर्मावलम्वी कृपनधारी श्री शशिधर जाट सल्यानमा आई ढारको बीच टाकुरामा राजदरवार वनाई राज्य गर्न थालेको प्रसङ्ग
मार्के निवासी नारायण प्रसाद आचार्यद्वारा लिखित ‘सल्यानको इतिहास’ नामक पुस्तकमा वर्णित छ ।
तिनताक सल्यान एकदम सानो राज्य भएको र जम्मा ५०० जनसंख्या भएको उक्त पुस्तकमा उल्लेख छ । पछि वसोबास वढ्दै गई चारखुवा, १२ गाउँ, माल्टा, आठवीस, साङ्गकोट, लक्ष्मीपुर आदि वस्तीहरु बसेका थिए । शशिधर जाट पछि उनका पाँचौ पुस्ताका राजा हर्वेली जाटको राज्य कालमा हालको जिल्ला सदरमुकाम खलङ्गामा वस्ती बसाइएको थियो । उनका वंशले करीव ६०० वर्ष सल्यानमा शासन चलाएका थिए ।पछि भारतको प्रतिष्ठानपुर बाट तिब्बतको खारा प्रान्तमा केही पुस्ता बसी त्यहाँबाट छुट्टिएको भनिएको खस जातिको एक हाँगोका तुलाराम खवासले सल्यानमा हमला गरी आफ्नो कब्जा जमाए ।
उनले विक्रम सम्वतको शुरुवातसँगै ढारको बीच टाकुरा स्थित जाटहरुको दरवारमा नवसी ढारको पूर्वी टाकुरामा दरवार बनाए र त्यँहीवाट राज्य सञ्चालन गर्न थाले । तुलाराम खवासदेखि पल्टु खवास सम्मका १४ पुस्ता का खस राजा हरुले करीव ६३० वर्षसम्म सल्यानमा राज्य सञ्चालन गरेका थिए । यिनीहरु मध्ये रञ्जित खवासका समयमा सल्यानको सीमा निकै विस्तृत हुन पुगेको थियो । जसको सीमा पूर्व भिङ्गी खोला, पश्चिम लखनउ पवन राज्य सीमा, दक्षिण दाङ्गको समथर भू–भाग, गुहार खोला देखि उत्तर पश्चिम र उत्तरमा भेरी नदीसम्म थियो ।
मानिसहरु भारतको बलरामपुरमा किनमेल गर्न जाने गर्द थे । त्यही बेला राजालाई अन्न उठाउने र जनताले पालो गरी राजदरवार वा कोटघर कुर्नुपर्ने व्यवस्था कायम गरिएको थियो । त्यो समयमा सल्यानमा खस जातिको बाहुल्यता निकै बढेको देखेर ह्यामिल्टनले यस राज्यलाई ‘खसान्त’ राज्य भनी सम्बोधन गरेका थिए । सङ्ख्याको दृष्टि बाट त्यसबेला
यहाँ १०–१६ खसियाहरु थिए। वि.सं. ६३० तिर डोटीबाट आएका सेन वंशी राजा श्री हर्ष वर्धनले मध्य रातमा हमला गरी पल्टु खवासलाई मारी सल्यान माथि कब्जा जमाए । हर्ष वर्धनका सन्तान हरुले सल्यानमा ४२५ वर्ष सम्म शासन गरेका थिए ।
तिनताक सेन हरुको राजधानी कालागाउँ भन्ने स्थानमा थियो । सिंजापति सम्राट श्री मलयवमका छोरा श्री सुलतानवमले सेनवंशी अन्तिम राजा तर्कजङ्ग सेनबाट सल्यान राज्य कब्जामा लिए । उनले वि.सं. १०५५ वैशाख पूर्णिमादेखि कालागाउँबाटै शासन चलाउन थाले । उनका छोरा मायुवावुका समयमा काशी नरेशको सल्लाह बमोजिम राज्यको मुख्य काम गर्ने व्यक्तिलाई ‘काजी’पदवी दिइएको थियो भने नाती सुमेरुवमका समयमा वडागाउँ, जिमाली, मर्म चिनाली, स्वीकोट आदि गाउँका वस्तीहरु बसेका थिए ।
सुमेरुवमका जेठा छोरा कालासुल्तानले दिल्ली सम्राटलाई प्रसन्न तुल्याई हालको बाँके र वर्दियाको मङ्गलागढी बासकुर्सी क्षेत्र प्राप्त गरेका थिए । तिनै काला सुल्तानले सल्यानका राज्य रजौटा–थपला हरुलाई एकट्ठा पारी विशाल राज्य बनाएका थिए । साथै कालागाउँबाट खलंगा गैरागाउँमा राजधानी सारेका थिए । उनैका समयमा पश्चिमतर्फको छिल्ली, ज्यामिरे, शेरास्वारा, मुसेलोरी, अधेरी, कुपिण्डे दह, पराजुला, खानीगाउँ, थापचौर, ग्रामचौर, मगरात वस्ती, दुरुमखोला, कालाखोला, किमिरेचौर आदि वस्तीहरु बसेका थिए ।
यिनका जेठा छोरा कनक शाहले प्रयाग बाट सर्वप्रथम वादी जातिलाई सल्यान ल्याएका थिए । यिनले सल्यानको पुनः एकीकरण समेत गरेका थिए ।उनीहरुका वंशज सङ्ग्राम शाह (द्धितीय) को जेठा सन्तान कृष्ण शाह (वि.सं. १७८४) निकै प्रभावशाली राजा मानिन्थे । उनी गोर्खाली राजा पृथ्वीनारायण शाहका समकालीन थिए । उनै कृष्ण शाह, जाजरकोटे राजा हरि शाह र पृथ्वीनारायण शाहको भेट वनारसको मणिकर्णिका घाटमा भएको थियो ।
त्यसपछि पृथ्वीनारायण शाहले सिद्ध भगवन्तनाथलाई आफ्नो दूतका रुपमा सल्यान पठाई सल्यानी राजासँग दौत्य सम्बन्ध मात्र कायम गरेनन् वि.सं. १८२३ मा आफ्नी छोरी विलास कुमारीलाई राजकुमार रणभीम शाह (कृष्ण शाहको छोरा) सँग विवाह समेत गरिदिए । त्यही नाता र दौत्य सम्बन्धका कारण बृहद् नेपालको निर्माणमा सल्यानले ठूलो योगदान पु¥याएको थियो ।
ह्यामिल्टनको भनाई अनुसार विलास कुमारीले आफ्ना पिता पृथ्वीनारायण शाहसँग सल्यानमा खान पुग्दैन भनी गुनासो गरेकी थिइन् । आफ्नी छोरीको गुनासो लाई ध्यानमा राखी उनले दाङ्ग राज्य जितेर छोरीलाई (सल्यानलाई) दिने आश्वासन दिएका थिए । एक ताम्रपत्रका अनुसार पृथ्वीनारायण शाहले आफ्नी छोरीलाई कोर्वाङ्ग, छिल्ली, थापानी, फलावाङ्ग, दाङ्ग, देउखुरी आदि स्थान दाईजोको रुपमा कुशविर्ता दिएका थिए ।
उनको आकस्मिक निधनका कारण छोरा बहादुर शाहले बावुको अधुरो इच्छा पूरा गरी दिए । सल्यानको अस्तित्वलाई कायम राख्ने पृथ्वीनारायण शाहको नीतिलाई वेवास्ता गरी भिमसेन थापाले पाल्पा विजयपछि वि.स.१८८३ जेष्ठ १४ मा सल्यान कब्जा गरे । रानी विलास कुमारी र उनको परिवारलाई काठमाण्डौंमा नजरवन्दमा राखे । भिमसेन थापालाई सल्यानी राज परिवारको अङ्ग्रेज हरुसँग गहिरो सम्बन्ध छ भन्ने आशङ्का थियो तर आशङ्का निवारण भएपछि पुनः वि.सं. १८६९ मा एक पत्रद्धारा विलास कुमारीकी नाती तेजबहादुर शाहलाई सबै किसिमको झारा, बेठ वेगार माफ गरेर सल्यान राज्यको सिमाना खुलाई राजा पदवी दिइयो ।

साभार-: दामोदर शर्मा फेसबुक

प्रकाशित मिति: २०२२-०१-१४ , समय : १४:४१:५१ , २ वर्ष अगाडि