वनस्पती विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पती दिवस मुलपानी सल्यानमा मनाइयो

सल्यान परिवेश डटकम , ८४३  पटक हेरिएको

सल्यान, ३० चैत ।

सल्यानमा वनस्पति दिवस मनाइएको छ । वनस्पती विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पती दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानले हिजो बुधबार एक कार्यक्रम गरेर मनाएको हो । केन्द्रले दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको थियो ।

कपुरकोट ३ मुलपानी स्थित वनस्पती उद्यानमा वनस्पती अनुसन्धान केन्द्रका प्रमुख डाक्टर मित्रलाल पाठकको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले जडीबटुीबाट मुलुकको समृद्धिमा योगदान बढाउने किसिमका जनलक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि कपुरकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले जैविक विविधताका विभिन्न पक्षहरु तथा जलवायु परिवर्तनको महत्व बारे चर्चा गरेका थिए । उनले वनस्पति अनुसन्धान केन्द्रसंग हरेक किसिमको सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए ।

जलवायु परिवर्तन एक चुनौती, समाधनाका लागि वनस्पति भन्ने नाराको साथ मनाइएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा पाठकले वनस्पति सम्पदाको खोज तथा अध्ययन अनुसन्धान र आगामी कार्यदिशाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अनुसन्धान केन्द्रले हाल जडिबुडि विकास र वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

उनका अनुसार कपुरकोट ३ स्थित मुलपानी वनस्पति उद्यानमा उन्यु प्रजातीहरु र फुल फुल्ने गरी ५५० बढी प्रजातीका वनस्पतिहरु संरक्षित छन् । जस अन्तर्गत झण्डै २४५ औषधिय गुण भएका, २०० शोभनिय वनस्पतिहरु, ५५ प्रकारका विदेशी शोभनीय वनस्पतिहरु तथा ४०÷४० प्रजातीका उन्यु र सुनगाभाको उद्यानमा संरक्षण गरिएको उनले जानकारी गराए । उद्यानमा जंगली अवस्थामा कम हुदै गएका ६० बढी दुर्लभ र लोपुन्मुख प्रजातीको संरक्षण र अध्ययन अनुसन्धान गरिएको जानाकारी समेत दिईएको थियो । दिवसको अवसरमा जैविक विविधता सचेतना तथा जडिबुटी खेतीबारे संचार क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकार शंकर केसीलाई सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु मनमति के सी, भेषा मल्ल र मिनजंग बुढाथोकीलाई नगद र प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यसैगरि लामो समय वनस्पति उद्यान उन्नयनमा सेवा गरेका पूर्व कर्मचारी तिलक बहादुर खत्री र शेर बहादुर मल्ललाई र पर्यापर्यटन एवं उद्यान सौन्दर्यकरणमा अहम भूमिका खेलेकोमा स्थानियबासी राज कुमार आचार्यलाई ढाका टोपी सहित दोसल्ला खादा ओढाएर सम्मान गरिएको थियो । वनस्पति सहायक गोपाल शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रकासकिय अधिकृत भरत कुमार वली, वडा नम्बर ३ का वडाध्यक्ष प्रदिप खड्का, सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेश अध्यक्ष घनश्याम शर्मा, कपुरकोट बहुमुखी क्यामपस प्रमुख रुपलाल ऐरी, कालिका मा.वि. कपुरकोटका प्र.अ. चुडामणि केसी, साना किसान कृषि सहकारी संस्थाका संस्था प्रवन्धक जीत प्रसाद आचार्य लगाएतले मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायीक वन समूह, बिभिन्न बैंकका प्रतिनिधी, स्थानीय संघ संस्थाका प्रतिनिधि, एवं स्थानीय वुद्दिजिवीहरुको सहभागिता थियो । सो अवसरमा कलवल, देवदार र धूपीका विरुवा वृक्षरोपण समेत गरिएको थियो । सहभागिहरुलाई कार्यालयबाट प्रकाशित जडिबुटिको खेती सम्बन्धि पुस्तकहरु र इच्छुकहरुलाई जडिबुटीका विरुवा निशुल्क वितरण गरिएको थियो ।

अन्य वक्ताहरुले जडिबुटिको महत्व बुझाउदै ब्यवसायिक जडिबुटी खेति विस्तार गर्नुपर्नेमा जोड दिएका थिए भने डा. पाठकले मूलपानी वनस्पति उद्यानलाई सल्यानमा र समग्र कर्णालीमा पर्यापर्यटन र शैक्षिक हब बनाउने लक्ष्य धेरै अगाडी बढिसकेकोले अबको लक्ष्य सल्यान लगायत तल्लो कर्णालीका विभिन्न जिल्लामा ब्यावसायिक जडिबुटी खेति विस्तार गरि कर्णालीलाई आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए । सल्यानका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले चैत्र २३ गते रुद्राक्षको विरुवा रोपेर सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरेका थिए भने हिजो बुधबार कार्यक्रम संचालन संचारकर्मी शकंर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०६:४७:१६ , ५ महिना अगाडि