सल्यान परिबेश डट्कम , ९०७ पटक हेरिएको

कतार पुलिसमा जागिर लगाइदिने भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी कञ्चनपुर ४ स्थायी घर भइ हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले उजुरीका आधारमा खोजतलास गर्ने क्रममा दाहाललाई झापा भद्रपुरबाट पक्राउ गरेको जानकारी दिए।
उनका अनुसार रकम लिएर दाहाल बेपत्ता भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
दाहालले पीडित चन्द्रबहादुर खत्रीसमेत १८ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट ७ लाख दरले ६३ लाख रुपैयाँ लिएर फरार रहेका थिए।
पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १७:४४:४८ , ८ महिना अगाडि