सल्यान परिबेश डट्कम , १३७२ पटक हेरिएको

दाङमा दुई बस एकआपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
आज बिहान पुर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका ३ फल्कापुरमा दुई बस ठोक्किएका हुन् ।
लमहीबाट भलुबाङ तर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुर आउँदै गरेको ना५ख४८९८ नम्बरको बस ठोक्किदाँ रोल्पा रुन्टिगढीकी २४ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार परियार वीरगञ्जबाट तुलसीपुर आउँदै गरेको बसमा सवार थिइन् ।
दुर्घटनामा २९ जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर रहेको डिएसपी गौतमले बताए । उनले गम्भीर घाइते भएकाहरुका मध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइएको बताए ।
उनले बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए ।
प्रकाशित मिति: २०२३-०५-१९ , समय : ०९:४६:०५ , ३ हप्ता अगाडि