घोराही सिमेन्टको आईपीओमा पहिलो दिनमै १ लाख बढीकाे आवेदन, ७४.२९ प्रतिशत शेयर बिक्री

सल्यान परिवेश डटकम , ४१९४  पटक हेरिएको

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज जेठ ३२ गतेदेखि निष्काशन गरेको शेयरमा करिब १ लाख भन्दा बढीको आवेदन आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा १ लाख २२ हजार ८२८ जना आवेदकबाट २ अर्ब २३ करोड ३७ लाख ६८ हजार ५०० रुपैयाँ बराबरको ५१ लख ३५ हजार १०० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको ७४.२९ प्रतिशत हो । त्यस अनुसार अब कम्पनीको २५.७१ प्रतिशत शेयर मात्रै बिक्री हुन बाँकी छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिशेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता,नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता शेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता शेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता शेयर बाँडफाँड गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता शेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असार १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपाल नेपाल लिमिटेडले केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमताको मध्यम आधार रहेको जनाउँदछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेका छन् । यस्तै प्रत्याभुतिकर्तामा भने नागरिक लगानी कोष रहेको छ ।

प्रकाशित मिति: २०२३-०६-१५ , समय : १७:३५:१४ , ३ महिना अगाडि