निर्माण व्यवसायीले काम गरेको ६० अर्ब रकम अझै भुक्तानी पाएनन्, म्याद थप गर्न पनि सरकारको अलमल

मेरो लगानीबाट साभार , ३१९५  पटक हेरिएको

निर्माण व्यवसायीले काम गरेको रकम सरकारले अझै भुक्तानी गरेको छैन।

सरकारले काम सकेको पैसा समते नदिएको कारण निर्माण व्यवसायी थप संङ्कट उन्मुख हुँदै गएको बताइएको छ। “सरकाले दिनु पर्ने ६० अर्ब रुपैयाँ भन्दा बढी रकम अझै हामीले पाएका छैनौ। जसले निर्माण व्यवसाय अघि बढाउनै नसकिने अवस्थामा हामी पुगेका छौं,” निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले मेरो लगानीसँग भने।

सिंहका अनुसार भौतिक, खानेपानी, ऊर्जा तथा सिँचाइ, सहरी विकास मन्त्रालय, प्रदेश र स्थानीय तहबाट काम सकिएको ७० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी छ । भौतिकबाट मात्र २६ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ । सरकारबाट पैसा नपाएको स्थिति छ भने उता बैंक वित्तीय संस्थाले समेत यतिबेला निर्माण व्यवसायीलाई थप ऋण दिन छाडेका छन्। ऋण मात्रै दिन बैंक वित्तीय संस्थाले छाडेका छैनन, निर्माण व्यवसायीलाई कालो सूचीमै राख्न थालेका छन्। जसले गर्दा निर्माण व्यवसायी भुक्तानी नपाएर थप प्रताडित हुँदै गएको सिंहले बताए।

सरकारले भुक्तानी नदिएको कारण निर्माण व्यवसायी मात्रै नभएर त्यसको चेन इफेक्ट अर्थतन्त्रमा पर्न थालेको छ। निर्माण व्यवसायीलाई निर्माण कार्यको लागि उधारो दिने सिमेन्ट उद्योग, रोडा गिटी व्यवसायी,  फलामे डन्डी व्यवसायी लगायतका सबैलाई भुक्तानीको असर परेको छ। जसको कारण कुनै पनि व्यवसायीले अहिले निर्माण व्यवसायीलाई उधारो दिनै बन्द गरेको सिंहको कथन छ।

सरकारले भुक्तानी नदिएका कारण विकास निर्माणमा समेत त्यसको असर देखिन सुरु गरेको छ। नत्र भए आर्थिक वर्षको समाप्ति नजिक आउदा विकास निर्माणको कार्यले निक्कै तिब्रता पाउने थियो। तर चालु वर्ष भने त्यस अनुसारको काम नभएको सिंहको भनाई छ। “अघिल्ला वर्षहरुमा आर्थिक वर्ष समाप्त हुनै लाग्दा विकास निर्माण र पूँजीगत खर्चले निक्कै ठुलो फड्को मार्ने गर्थ्यो। तर यस पटक त्यस्तो देखिएको छैन। त्यसको कारण भनेको निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनु नै हो। सोही कारण यस पटक जुन रफ्तारमा खर्च हुनु पर्ने थियो त्यो भएन,” सिंहले भने।

एकातिर सरकारले समयमा भुक्तानी नदिएको कारण काम अघि बढ्न सकिरहेको छैन। काम सकेकाले भुक्तानी नपाएकाहरुको असर नयाँ बन्दै गरेका आयोजनाहरुमा समेत पर्न थालेको छ। बजारमा पैसा घुम्ने गर्छ। तर पैसा एक ठाउँमा गएर बल्क भएर बसिदिँदा काम अघि बढाउन समेत नसकिएको व्यवसायीहरुको भनाई छ। सोहि कारण अहिले व्यवसायीहरुले निर्माण अबधि लम्व्याउनु पर्ने अर्को माग गरिरहेका छन्। हुनत कोभिड पछि सरकारले पटक पटक म्याद नबढाएको भने होइन। तर व्यवसायीहरुले त्यस बेला कामै गर्न नसकेकोले गर्दा म्याद थप गर्नै पर्ने बताएका छन्। “त्यसबेला कोभिड आयो। कोभिडमा काम नै गर्न सकिएन। निर्वाचन र भुक्तानीको कारणले काम गर्न सकिएन। त्यस कारण तीन हजार भन्दा बढी आयोजनाको म्याद थप गर्नै पर्ने हुन्छ ” सिंहले भने।

पछिल्लो समय सरकारले २०८० असार मसान्तसम्मको समय दिएको थियो। उक्त समय बढाएर २०८१ असार मसान्तसम्म पुर्याउनु पर्ने माग गरेका छन्। जसमा सरकार समेत सकारात्मक रहेको व्यवसायी बताउछन्। “सरकार २०८१ असार मसान्तसम्म म्याद बढाउन सकारात्मक देखिएको छ। तर आज भोलिमै हुनु पर्ने काम भने भइरहेको छैन। जहासम्म यसै साता समय बढ्ने अपेक्षा गरेका छौं,” सिंहले भने।

प्रकाशित मिति: २०२३-०६-२८ , समय : १४:११:४४ , ५ महिना अगाडि