चर्चित यी १७ कम्पनी, जसको एक कित्ता शेयर बिक्री गर्दा १ किलो गोलभेँडा पनि आउँदैन

सल्यान परिवेश डट कम , २०५३  पटक हेरिएको

नेप्सेमा १७ कम्पनी जसको शेयर मूल्य एक किलो गोलभेँडाको भन्दा पनि कम छ । गोलभेँडाको भाउ मंहगिदै गएको र शेयरको भाउ निरन्तर ओरालो लाग्दै आएका कारण यी कम्पनीहरुको एक कित्ता शेयर बिक्री गर्दा पनि १ किलो गोलभेँडा पनि नआउने अवस्था आएको हो ।

नेपाली गोलभेँडा भारतीय बजारमा प्रवेश गर्दा नेपालका उपभोक्ताले खानै नसक्ने गरी भाउ बढ्न पुगेको हो । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा अहिले थोकमा नै एक किलो गोलभेँडाको भाउ ११५ देखि १८० मूल्य छ ।

थोक मूल्यमा नै यति धेरै गोलभेँडाको मूल्य भएपछि त्यो उपभोक्ताको भान्सामा पुग्दा झनै मंहगो हुने नै भयो । अहिले एक किलो गोलभेँडा किन्न करिव २०० रुपैयाँ पर्ने स्थिति आएको छ ।

एकातिर गोलभेँडाको भाउ मंहगिएको छ । अर्कोतर्फ सर्वसाधारणको हातमा रहेको शेयरको मूल्य निरन्तर घटेर १ कित्ता शेयर बिक्री गर्दा एक किलो गोलभेँडा नआउने अवस्था आएको छ ।

नेप्सेमा सूचीकृत १७ कम्पनीको शेयर बिक्री गर्दा एक किलो गोलभेँडा नआउने स्थिति बनेको हो । त्यसमध्ये ५ वाणिज्य बैंक जसको शेयर मूल्य १९३ रुपैयाँ भन्दा कममा आइपुगेको छ ।

कुमारी बैंकको १६४.७० पैसा, प्रभु बैंकको १७०.२० पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८२ रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलको शयेर मूल्य १८७.१० रुपैयाँ र प्रभु बैंकको १९३.३० पैसा रहेको छ । यी वाणिज्य बैंकको एक कित्ता शेयर बिक्री गर्दा अहिले बजारमा खाइ नसक्नुको अवस्थामा पुगेको एक किलो गोलभेँडा पनि नआउने अवस्था भएको छ ।

यसैगरी, निरन्तर ओरालो लाग्दै आएका १० हाइड्रोपावरको शेयर बिक्री गर्दा पनि एक किलो गोलभेँडा नआउने भएको छ । अहिले हिमालयन दोलखा हाइड्रोपावरको १४२.५० पैसा, नेशनल हाइड्रोपावरको १५९ रुपैयाँ, शिवश्री हाइड्रोपावरको १६८ रुपैयाँ, दिब्यश्वरी हाइड्रोपावरको १६८.९० पैसा, र आँखुखोला हाइड्रोपावरको १७४ रुपैयाँ शेयर मूल्य रहेको छ ।

यसैगरी, युनियन हाइड्रोपावरको १७९.५० पैसा, पन्चकन्या हाइड्रोपावरको १८७.९० पैसा, अपि पावरको १८९ रुपैयाँ, सिनर्जी पावरको पनि १८९ रुपैयाँ र खानीखोला हाइड्रोपावरको १९३.५० पैसा शेयर मूल्य छ ।

हाइड्रोपावर पावर कम्पनीको शेयर मूल्य पनि निरन्तर ओरालो लागेका कारण एक कित्ता शेयर बिक्री गर्दा एक किलो गोलभेँडा पनि आउने नसक्ने अवस्थामा पुगेका हुन् । यसैगरी, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयर मूल्य पनि १७६.५० पैसा आएको छ । साथै समाज लघुवितको शेयर मूल्य पनि ७४.९० रुपैयाँयामा आइपुगेको छ । यी कम्पनीको एक कित्ता शेयर बिक्री गर्दा पनि एक किलो

गोलभेँडा आउन नसक्ने अवस्था आएको हो ।

७/८ रुपैयाँमा फालाफाल हुने गोलभेँडाको भाउ किन एकाएक आकासियो

४८ दिनअघि अर्थात असार ३ गते प्रतिकिलो ७/८ रुपैयाँमा गोलभेँडा बिक्री नभएर किसानहरुले कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरेका थिए । त्यसबेला किसानहरुले आफ्नो लागत भन्दा निकै कम गोलभेँडा बिक्री गर्नु परेको भनेर विरोध जनाएका थिए । किसानहरुले त्यतिबेला एक किलो गोलभेँडा उत्पादन गर्न ३५ रुपैयाँ लाग्ने गरेको तर, बजारमा ७/८ रुपैयाँमा नै बिक्री गर्न पुग्दा लागत मूल्य नै नआउने भन्दै विरोध गरेका थिए ।

तर, अहिले त्यही गोलभेँडाको मूल्य किलोकै २०० हाराहारीमा नै पुग्न लाग्यो । थोक बजारमा नै किलोको १८० रुपैयाँसम्म पुगेकोछ । खुद्रा बजारमा गोलभेँडाको भाउ झनै मनलाग्दी छ । जसले गर्दा सर्वसाधारण उपभोक्ताले गोलभेँडा उपभोग गर्नसमेत छोडिसकेका छन् ।

यस पटक भारतमा ठूलो वर्षा भएर गोलभेँडा खेती डुबानमा परेकाले उत्पादन कम हुँदा नेपाली गोलभेँडा भारतीय बजारमा जाँदा यसको असर नेपाली बजारमा परेको व्यवसायीहरु बताउँछन् । कालीमाटी व्यापारी गोविन्द लुइटेलले नेपालमा उत्पादित गोलभेँडा भारतीय बजारमा पुगेपछि स्थानीय बजारमा मूल्य आकासिएको बताए ।

भारतमा यस पटक गोलभेँडा उत्पादन कम हुँदा काठमाडौँ उपत्यकाबाट तराई हुँदै भारत निर्यात भइरहेको उनको भनाइ छ । ‘एक महिना अघिसम्म भारतबाट पनि केही आउने गरेको थियो । अहिले भने उताबाट नआएर यताबाट गइरहेको छ । यसकै कारण भाउ बढेको हो,’ उनले भने । यो बेला गोलभेँडा उत्पादनको मौसम पनि नभएको र नेपालमा उत्पादन भएको गोलभेँडा पनि भारतीय बजारमा जान थालेपछि भाउ महँगो भएको उनको भनाइ छ ।

गोलभेँडाको भाउ मात्रै बढेको होइन्, निरन्तर पानी परेका कारण अन्य तरकारीको मूल्य पनि बढेको छ ।

यता दैनिक नभै नहुने जिराको भाउ समेत बढेको छ । केही दिन अघि एक किलोको १ हजार मूल्यमा पाइने जिराको भाउ अहिले १ हजार २ सय पुगेको छ ।

भारतबाट चामल आयात हुन छाडेपछि बोरामा नै २०० देखि २५० रुपैयाँसम्म मूल्य बढेको छ । भारतले यही साउन ४ गतेदेखि चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको भाउ एकाएक बढेको हो ।

यही साउन ४ गते भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएको थियो । मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अवस्था सिर्जना हुनबाट रोक्न भारतले निर्यातमा रोक लगाएको थियो ।

भारतबाट आएको चामलबाट नै नेपालको भान्सा निर्भर रहेको छ । भारतबाट चामल आयात हुन छाडेपछि भान्सा मंहगिएको छ ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : १०:००:०३ , २ महिना अगाडि